राजनीति


आगामी वर्षदेखि नोटबाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः मन्त्री गुरुङ

आगामी वर्षदेखि नोटबाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः मन्त्री गुरुङ

नेपालखबर
भदौ १, २०८२ आइतबार २०:२६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाक टिकट, स्मार्ट कार्डहरू, इमिग्रेसनको सबै डकुमेन्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सबै छपाईका काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका हुन्।

हाल २८ लाख ड्राइभिङ स्मार्ट कार्डहरू छाप्न लागिएको उनले जानकारी दिए। उनले यो वर्ष छाप्ने ६४ लाख राहदानी बाहिरको संस्थालाई दिएको जानकारी दिए।

हाल बाहिरको कम्पनीलाई २० लाख राहदानी छाप्न दिएर बाँकी रहेको ४४ लाख पछि छाप्ने प्रस्ताव आफूले परराष्ट्र मन्त्रालयलाई गरेपनि त्यसो हुन नसकेको उनले बताए। परराष्ट्र मन्त्रालय एकैपटक छाप्ने भनेपछि अहिले बाहिरी संस्थाले राहदानी छाप्ने काम गरिरहेको उनले जानकारी दिए।  

उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र म आउँदा बन्द थियो। त्यहाँको सिईओ जेलमा छ, मुद्दा परेर मुद्दा हारेर। मेसिनहरू सबै ल्याएर राखेका छन्। ठूलो प्रिटिङ मेसिन राख्ने ठाउँ नभएपछि अलपत्र भएर बसेको थियो। यो वर्ष छाप्ने ६४ लाख राहदानी चाहिँ बाहिरको संस्थालाई दिएका छौँ। मैले भनेको २० लाख चाहिँ अहिले छाप्नुस्, बाँकी रहेको ४४ लाख पछि छापौँ भनेको परराष्ट्र मन्त्रालयबाट मान्नुभएन, एकैपटक छाप्ने भन्नुभयो। त्यसकारण उनीहरूले अहिले छाप्दैछन्।’ 

उनले थपे, ‘अर्को सालदेखि बैंक नोट बाहेक नेपालका सबै चिजहरू हुलाक टिकटदेखि लिएर स्मार्ट कार्डहरू, इमिग्रेसनको सबै डकुमेन्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीदेखि लिएर सबै चिजहरू छाप्ने सुरक्षण मुद्रण केन्द्र हामीले तयार गरिरहेका छौँ। अहिले हामी २८ लाख ड्राईभिङ स्मार्ट कार्डहरु छाप्दैछौँ। सुरक्षण मुद्रणसँग जोडिएका सबै चिज छाप्ने काम अब हाम्रो संचार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले गर्छ।’

उनले यो नेपालको लागी ठूलो माइनस्टोनको काम भएको पनि बताए। 

यो वर्ष काठमाडौं र पोखरामा फाईभजी शुरु गर्ने गर्ने र अर्को वर्ष सबै महानगरभित्र फाईभजी सेवा सञ्चालन गर्नेगरि काम अगाडी बढाईएको उहाँले बताए। यसरी नै देशभर फाईभजी सेवा सञ्चालनमा ल्याउने उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad