यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा उक्त जानकारी दिइएको हो।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार तीमध्ये २१ सय २८ जना प्रतितिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्।
२०७८ मा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन्।
एमाले प्रचार प्रमुख गौतमका अनुसार प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ।
शनिबार बसेको मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशन भव्य बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म स्वागतद्वार निर्माण गर्ने निर्णय गरेको छ। बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनका तर्फबाट स्वागतद्वार राखिने भएका हुन्।
यसैगरी महाधिवेशनस्थलमा कम्तीमा ३ सय स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवक व्यवस्थापनको जिम्मा युवा संघ, खेलकुद महासंघलगायत जनसंगठनले लिएका छन्।
बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्युज डेस्क स्थापना गर्ने निर्णय भएको छ।
यसैगरी मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ। महाधिवेशनको मूल नाराको तयार पार्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, फ्लयार, भिडिओ सामग्री उत्पादन गरेर नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा सेयर गर्नेछन्।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैैले गर्नुपर्ने निर्णय गरिएको छ।
एमाले प्रचार प्रमुख गौतमले दिएको जानकारीअनुसार सातदोबाटोबाट गोदावरीसम्म जान सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीले गर्नेछन्। महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ।
विधान महाधिवेशनका लागि एमालेले मातहतका कमिटीलाई भदौ १० गतेसम्म सुझाव दिन भनेको छ। सबै प्रदेश कमिटीले सुझाव पठाएपछि तिनलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको एमालेले जनाएको छ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले, तथा विधान संशोधनसम्बन्धी प्रस्ताव उपप्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेस गर्नेछन्।
विधान महाधिवेशनका लागि एमालेले यसअघि नै विभिन्न कमिटी बनाएर जिम्मेवारी तोकिसकेको छ। सबै कमिटीले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए।
व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र नीति र विधि तय गर्ने उत्सव भएकाले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितिलाई तीव्रताका साथ काम गर्न निर्देशन पनि दिए।
एमालेले आज (भदौ १) देखि विधान महाधिवेशनको ‘काउन्ट डाउन’ (दिनगन्ती) सुरु गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया