नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं-तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन्।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा उनले प्रतिवद्धता जनाएका हुन्।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे। सिग्देलले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए।
'खोकना प्रस्थान बिन्दु पनि हो। ६.५ किलोमिटरसम्म लम्बाई छ। ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ छ,' उनले भने,'सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बस्ने ठाउँहरू छन् त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौँ।'
यस्तो छ सिग्देलको भनाइ
हाम्रो भनाइ र सोचाइ काम समयमा सक्नुपर्छ भन्ने हो। ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ। त्यसमा हामी प्रतिवद्ध छौँ। अहिले करिब ४३ प्रतिशत काम सकिसकेको छ। अब हुने काम छिटो सकिने खालका छन्। धेरै जसो समय ईआईए गठन, टेन्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ। समस्या समाधानहरू हुने हो भने काम नसकिने भन्ने होइन। अब रफ्तार लिनसक्छ। काम धेरै सहज खालका छन्। नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ।
त्यसैअनुसार हामी काम गर्दछौँ। खोकना प्रस्थान बिन्दु पनि हो। ६.५ किलोमिटरसम्म लम्बाई छ। ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ छ। सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि किरियापुत्री बस्ने ठाउँहरू छन् त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौँ।
Shares

प्रतिक्रिया