राजनीति


३० हजार धरौटीमा छुटे चक्रे मिलन, अन्य १८ जनालाई कति?

३० हजार धरौटीमा छुटे चक्रे मिलन, अन्य १८ जनालाई कति?

नेपालखबर
साउन २८, २०८२ बुधबार १७:३७, काठमाडौँ

चक्रे मिलन भन्ने मिलन गुरुङ ३० हजार धरौटीमा छुटेका छन्।  

प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। 

पहिलो पटक अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्ने भए पनि चक्रे मिलनसहितका प्रतिवादीहरूले पटक-पटक यस्ता कसुर गरेकाले मुद्दा अदालत पुगेको थियो। 

गोरखाका ५४ वर्षीय गुरुङसँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश खड्का, राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलविरुद्ध मुद्दा दायर भएको थियो। 

यस्तै मकवानपुरका रितिक थापा, काठमाडौँका चन्द्रदेव कार्की, जीतबहादुर लामा, सिन्धुपाल्चोकका आकाश गोले, ओखलढुंगाका अमीर आले मगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र सफल भन्ने सुजल शाहीविरुद्ध अभियोग पत्र दायर भएको थियो। 

उनीहरूले काठमाडौँको चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउँदा स्थानीयलाई त्रसित हुने गरी गतिविधि गरेको आरोप थियो। सडकमै सवारी साधान रोकेर आवतजावतमा अवरोध गरेको, गाडीमा हरेलु हतियार बोकेको र समूह बनाइ होहल्ला गरी सर्वसाधारण नागरिकलाई डर धाक धम्की दिएको आरोप पनि थियो। 

साउन १६ गते राति साढे १ बजेसम्म होटलमा बसेर ठूलो आवाजमा चिच्याउने, अश्लिल अपशब्दहरू प्रयोग गरेर कराउने, विगत केही दिनदेखि नै विभिन्न स्थानमा केक काटेर जन्म दिन मनाउँदा सार्वजनिक स्थानहरूमा हो हल्ला गरेको, घरेलु हतियार प्रदर्शन गरेको, ती गतिविधिका भिडिओ सामाजिक सञ्जालमा राखेर थप आतंकित पारेको र शान्ति भंग गरेको आरोप उनीहरूलाई लगाइएको थियो

उनीहरूले यस्ता गतिविधि गरेको सूचनापछि पुगेको प्रहरीलाई समेत तथानाम गालिगलौज गरेको, हातपातको प्रयास गरेको र अभद्र व्यवहार गरेको अभियोग पत्रमा उल्लेख थियो। उनीहरूको गाडीबाट प्रहरीले दुई थान खुकुरी, स्प्रेको बट्टा एक थान, फलामको रड २ थान पनि बरामद गरेको थियो। 

चक्रे मिलनसहितका प्रतिवादीहरू यसअघि पनि पटक-पटक विभिन्न मुद्दाहरूमा पक्राउ परी छुट्दै आएको प्रहरीको अभिलेखमा फेला परेको छ। गणेशबहादुर बोगटीलाई यसअघि २०८० मंसिर ६ गते ७ दिनको कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला  भएको थियो। 

उनी २०७९ चैत २७ गते पक्राउ परेका थिए। त्यसपछि उनी २०८० वैशाख ३ गतेसम्म हिरासतमा बसेकाले उनको कैद कट्टा भएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले कैद कट्टा भइसकेको जानकारी दिएको छ। 

डिल्लीराज कँडेललाई पनि यसअघि अभद्र व्यवहारको कसुरमा एक हजार ८ सय जरिवाना तोकिएको थियो। रितिक लामाविरुद्ध पनि यसअघि अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०८० असार ६ गते ३ हजार रुपैयाँ जरिवाना र १६ दिन कैद तोकिएको थियो। 

यसअघि समेत उनीहरूले कसुर गरेकै कारण यसपटक भने अभद्रै व्यवहारको मुद्दा अदालत पुगेको हो। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।  

कसलाई कति धरौटी ?

१. चर्के मिलन भन्ने मिलन गुरुङ - ३० हजार
२.  राजेश भन्ने रोजेश खड्का- ३० हजार
३.  चन्द्र देव कार्की -१० हजार
४.  प्रकाश गोले -१० हजार
५.  आमिर आलेमगर -१०हजार
६ . उत्तम महर्जन -१० हजार
७ . प्रनिश कँडेल -१० हजार
८.  राजु परियार -१० हजार
९ . रितिक लामा - २० हजार
१० .गणेशबहादुर बोगटी - २० हजार
११ .रोशन सुवेदी - १० हजार 
१२. सन्दीप के.सी -१० हजार
१३ .  राहुल खड्का -१०हजार
१४ . यामु पौडेल -१० हजार
१५ . सौरभ सुनार -१० हजार
१६ . डिल्लीराज कँडेल -२० हजार
१७. जीत बहादुर लामा - १० हजार
१८ .सफल भन्ने सुजल शाही- १० हजार
१९ . निराजन पौडेल - १० हजार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad