परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। आइतबार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रमाणपत्रको महत्व आफूले राम्रोसँग बुझेको बताइन्।
उनले नर्सहरूले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्कि देश बनाउन लाग्न आह्वान गरिन्।
‘क्युएईको महत्व एउटा क्याम्पसलाई के हुन्छ भन्नेकुरा म राम्रोसँग बुझ्छु। कुनै पनि सानो सानो आफ्नो व्यक्तिगत रिस र राजनीतिक प्रतिशोधका कारण यत्रो क्याम्पसले क्यूएई नपाउनु राम्रो कुरा होइन,' उनले भनिन्, 'उहाँहरुले कि यो यो मापदण्ड पूरा गर भन्न सक्नुपर्छ कि त दिन सक्नुपर्छ। यहाँको विद्यार्थी नेपालभित्र मात्र नभई नेपाल बाहिर पनि जानुभएको होला ६ सय २८ पास भएकोमा ५ सय ७५ जना त विदेश नै जानुहुँदो रहेछ। कि त हामीले यहाँ नै त्यो अवसर दिनुपर्छ। नत्र भने तपाईंहरुको अझ राम्रो भविष्य बनाउने कुरा रोक्न सकिँदैन। तर त्यहाँ गएर आफ्नो अनुभव बटुलेर फेरि नेपाल आउनुहोस्। नेपाललाई तपाईंहरूको आवश्यक धेरै छ।’
मन्त्री राणाले चिकित्सकले सर्जरी, अप्रेसन गर्ने भए पनि नर्सले जीवनकै हेरचाह गर्ने बताउनु भयो। आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्जरी गर्नमा प्रतिष्पर्धा नै रहेको उनको भनाइ थियो। आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको उनले बताएकी थिइन्।
Shares

प्रतिक्रिया