राजनीति


कान्ति राजपथ तीन महिनामा सञ्चालन हुने प्रदेशका मन्त्रीको दाबी

कान्ति राजपथ तीन महिनामा सञ्चालन हुने प्रदेशका मन्त्रीको दाबी

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ३:१५,

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेपाल सरकारद्वारा बोलपत्र आह्वान गरी निर्माण गरिएको काठमाडौँ जोड्ने कान्ति राजपथ सडकखण्डको अनुगमन गरेका छन्।

अनुगमनको क्रममा उनले आगामी तीन महिनाभित्र कान्ति राजपथको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने दाबी गरे।

त्यसका लागि वाग्मती सरकारको तर्फबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गरिएको उनको भनाई छ। ‘तत्कालै राजमार्गको निर्माण कार्य शुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइसकेका छौँ,’ फुँयालले भने।

नेपाल सरकारले विसं २०७१ मा कान्ति राजपथ निर्माणका लागि तीन अर्ब अनुदान उपलब्ध गराई बोलपत्र आह्वान गरी विभिन्न निर्माण व्यवसायीलाई निर्माण गर्न स्वीकृति प्रदान गरेको थियो।

निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सात दोबाटोसम्मको करिब ९० किलोमिटर सडकमध्ये हालसम्म करिब ८० किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मकवानपुरको सिमात खोलादेखि मकवानपुर र ललितपुरको सिमाना बकुवाखोलासम्म विभिन्न ठाउँमा निर्माण गर्नुपर्ने र ललितपुरको भट्टेडाँडा नजिक पनि सडक निर्माण गरी यातायात सञ्चालन गर्नेतर्फ प्रदेश सरकारले छिट्टै पहल गर्नुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ बाढीपहिरोका कारण अवरुद्ध हुँदा काठमाडौँ उपत्यकालाई खाद्यान्न र इन्धनको आपूर्तिमा तत्कालै सहज तुल्याउन कान्ति राजपथ सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सकिने काँग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए।

हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति राजपथ निर्माणका लागि २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारले नेपाली सेना परिचालन गरेको थियो। ६० वर्ष नाघिसक्दा पनि यो सडक निर्माण अझै पूरा भएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad