राजनीति


माओवादीमा कोही पनि नेता दायाँबायाँ गरेर भाग्न पाउँदैन : वर्षमान पुन

माओवादीमा कोही पनि नेता दायाँबायाँ गरेर भाग्न पाउँदैन : वर्षमान पुन

नेपालखबर
साउन १७, २०८२ शनिबार १६:१६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन्। 

किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरका पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले माओवादी नेताहरुले व्यवस्था परिवर्तनका लागि भएको १० औं हजारको बलिदान, लाखौं योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै कोही पनि भाग्न नपाउने उल्लेख गरे। 

नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे। ‘पार्टी स्थायी समितिको बैठक चलिरेको छ, हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौं,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं।  हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरु छौं। जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरुका सपनाको जिम्मा लिनुपर्छ। यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन।’

पुनले थपे, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ। हामी अरु पार्टीका नेताहरुजस्तो हिंड्छु भनेर हिंड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिन भनेर गर्न नपाउने ठाउँमा छैनौं। किनकी हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरू हौं।’ 

सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरुले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिलाई आग्रह गरे। ‘कसैले पनि हाम्रो त्याग, तपस्या र समर्पणप्रति चलखेल नगरोस्। पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टीबाहिरबाट नहोस्। त्यस प्रकारका प्रवृत्तिप्रति सबै सतर्क हुन जरुरी छ’, उनले भने। 

यस्तै उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगनायक भएको दाबी गरे। फरक प्रसंगमा पुनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताबारे सघन छलफल चलिरहेको खुलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad