जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन्।
शनिबार काठमाडौँमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेकोमा जोड दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे।
‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ, किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘भ्रष्टाचारीको अनुहारै हेर्दिन जस्ता अनेकौँ कुराहरू भनिइरहिएको छ। मुखै हेर्दिन भनिएको छ। यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो। जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाहीँ सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ। निर्वाचन प्रणालीको कारण हो। अर्को भनेको मन्त्रीहरुले नीतिगत निर्णयमा सही गर्दछन्। कार्यान्वयन ब्युरोकेट्सहरुले गर्ने, आदेश दिने मन्त्रीहरु हुन्छ, भोलि कुनै फाइलमा समस्या भयो, भ्रष्टाचार भयो भन्ने आयो भने समाउने सचिव र सहसचिवहरुलाई हो।’
उनले थपे, ‘तर नेताहरु जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ। कति टेप काण्डहरु भइरहेको हुन्छ, उनीहरु गिरफ्तार हुँदैनन्। जसले निर्णय गर्दछ, उसले नै जवाफदेहिता लिने हो भने नेताहरुले त्यस्तो गलत आदेश दिँदैनन्। यी कुराहरु सच्याएर जानुपर्छ।’
Shares

प्रतिक्रिया