नेपाली कांग्रेस बागमती संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गराए। २०७९ पुस १३ गते भएको संसदीय दलको नेताको चुनावमा लामासँगै पराजित भएका बानियाँ र मंगलबार आफ्नै सांसदले अविश्वासको प्रस्ताव पारित गराएर पदमुक्त भएका लामाबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
दलको नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा बहुमत प्राप्त भएपछि दलको नेताको हैसियत गुमाएका लामाले पुनः दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
दलको नेताबाट पदमुक्त भएका लामा बुधबार (आज) पुन: दलको नेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। यता लामासँगै ५ मतान्तरले पराजित बन्न पुगेका बानियाँ उक्त मतान्तर उल्ट्याउँदै दलको नेता बन्ने योजनासहित चुनावी प्रतिस्पर्धामा छन्।
पछिल्लो अंकगणित हेर्ने हो भने बानियाँको पक्षमा २२ सांसद छन् भने लामाको पक्षमा १५ सांसद छन्। दलको नेताका लागि बहुमत पुर्याउन १९ मत भए पुग्छ। कांग्रेसका कुल ३७ सांसद रहेको बागमतीमा दलका नेता बन्न ५१ प्रतिशत मत आवश्यक हुन्छ।
एउटै दलमा रहेको यो अंकगणित हेर्ने हो भने यो पटक बानियाँले लामालाई पराजित गर्न सहज देखिन्छ। तर बानियाँ समूहमा प्रष्ट २२ सांसद उभिएको देख्दा पनि मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा हतासिएको भने देखिँदैन। लामालाई कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाको पूर्ण समर्थन छ। डीनाकै साथका कारण लामा फेरि भिड्ने मुडमा उत्रिएका हुन्।
उक्त अन्तरद्वन्द्वको प्रमुख डिजाइनर अरु कोही नभएर इन्द्रबहादुर बानियाँ थिए। मकवानपुर प्रदेश सभा २(२) बाट बानियाँ उम्मेदवार बन्दै गर्दा मकवानपुर प्रतिनिधि सभा १ मा डीनाको उम्मेदवारी थियो। यदी डिनालाई जिताएर केन्द्रमा पठाए मन्त्री बन्ने पक्कापक्की सम्भावना देखेपछि बाटो छेक्नका लागि उनलाई हराउन खेल खेलेको आरोप बानियाँले खेप्दै आएका छन्। जिल्लामा नेपाली कांग्रेस दुई गुटमा विभाजित छ। एक समूह बानियाँ निकट छन् भने एक समूह डीना निकट। बानियाँ चाहिँ कांग्रेस बागमतीका सभापति हुन्।
हाल प्रदेश सभामा बानियाँ र लक्ष्मीदेवि श्रेष्ठ गरी मकवानपुरबाट कांग्रेसका दुई सांसद छन्। जसमा श्रेष्ठ डीना गुटकी हुन्। जसकारण उनले अविश्वास प्रस्तावको विपक्ष अर्थात् लामाको पक्षमा मत जाहेर गरिन्।
२०७९ पुस १३ गते सम्पन्न प्रदेश संसदीय दलको निर्वाचनमा डीनाकै सक्रियताका कारण लामाले सफलता हात पारेका थिए। यो पटक पनि डीनाकै साथले दलको नेता जित्न सक्ने सम्भावना देखेरै लामा नगलेको चर्चा छ।
बानियाँ दलको नेता बने पनि मुख्यमन्त्री बन्ने प्रक्रियामा डीनाले विभिन्न अस्त्र प्रयोग गर्नेछिन्। उनकै बलमा मुख्यमन्त्री लामाले राजीनामा नदिएको समेत चर्चा छ। पछिल्लो अन्तिम समयमा पनि डीना काठमाडौँ नै बसेर पार्टी केन्द्रीय नेताहरुसँग लबिइङ गरिरहेको बागमती प्रदेशका एक सांसदले जानकारी दिए।
उनका अनुसार केन्द्रमा तालमेल मिलाएको कारण यतिबेला लामाले संसदीय दलको नेताको लागि उम्मेदवारी दर्ता गराएका हुन्। ‘केही अंश आशा रहेकै कारण मुख्यमन्त्री ज्युले दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नु भएको हो,' लामानिकट ती सांसदले भने, ‘कतैबाट ग्रिन सिंग्नल नपाएको भए उहाँ फेरी के का लागि चुनावी मैदानमा उत्रनुहुन्थ्यो होला र? केन्द्रका केही नेताको ढाडसले नै उहाँ फेरि दलका नेताका लागि उत्रनु भएको हो।’
सहमहामन्त्री डीना पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् भने बानियाँ पनि देउवा निकट नै हुन्। तर विगतदेखि नै बानियाँ र डीनाबीच मोर्चाबन्दी हुँदै आएको छ। केन्द्रमा एउटै नेतानिकट भए पनि जिल्लामा उनीहरूले फरक गुटको राजनीति गरिरहेका छन्।
Shares

प्रतिक्रिया