राजनीति


विशेष महाधिवेशनको माग गर्दै जनार्दनले गरे ४ प्रस्ताव

विशेष महाधिवेशनको माग गर्दै जनार्दनले गरे ४ प्रस्ताव

नेपालखबर
साउन १३, २०८२ मंगलबार १९:५, काठमाडौँ

नेकपा (माओवादी केन्द्रका) उपमहासचिव जनार्दन शर्माले पार्टीको विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ प्रस्ताव गरेका छन्।

समाजिक सञ्जाल फेसबुकबाट ती प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएकाे र त्यसको पछि नलाग्न कार्यकर्तालाई समेत आग्रह गरेका छन्। 

‘बिगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु,’ शर्माले भनेका छन्। 

त्यस्तै विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकतालाई चिर्ने समेत तर्क गरेका छन्।

शर्माले लेखेका छन्, ‘विशेष महाधिवेशनले  पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, बिधिबिहिनता, सहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ।’

नेकपा (माओवादी केन्द्र) पार्टीबारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु।

१. बिगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु।

२. गत बर्ष सबै प्रदेशहरुमा भएको परामर्श बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार आषाढदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डाकेन्द्रित  बहस गरौँ। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।

३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र  मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको शाखलाई पुनः माथि उठाउन गम्भीर आत्ममीक्षा गर्दै एजेन्डाकेन्द्रित बहसमा केन्द्रित हौँ।

४. यतिबेला सिंगै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन्। यसको समाधान संबिधानको संशोधन,अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन नै हो। 

अर्थतन्त्रको पुनर्संरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ।

देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका बिषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुमा राष्टलाई एकताबद्द गर्नेछ।

विशेष महाधिबेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, बिधिबिहिनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad