नेकपा (माओवादी केन्द्र)सहितका ४ दलले बनाएको समाजवादी मोर्चालाई विस्तार गरिने भएको छ।
हाल मोर्चा संयोजक रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को असन्तुष्टिपछि मंगलबार मोर्चाको बैठक बसेको हो।
उनले केही दिनअघि मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुलाई भेट्दै कि मोर्चालाई प्रभावकारी बनाउनुपर्ने नभए विघटन गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका थिए।
त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएर मोर्चाको बैठक तय भएकाे थियो।
एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा आज भएको छलफलपछि मोर्चालाई थप विस्तार गर्ने निर्णय भएको र त्यसले विप्लवसहित सबै नेता उत्साहित भएको मोर्चा बैठकमा पहिलोपटक सहभागी नेता बामदेव गौतमले नेपालखबरलाई जानकारी दिए।
‘उहाँ समेत (विप्लव) संलग्न भएर अगाडि बढ्ने प्रस्ताव राखिसकेपछि सबै उत्साहित भएर झन अगाडि बढ्नुपर्छ भन्ने भयो,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘बरु यसलाई एउटा समाजवादी शक्तिका रुपमा बनाउने भन्ने भएको छ।’
गौतमले जनताको कुरा उठाउनेगरि मोर्चालाई अगाडि बढाउनुपर्ने विचार बैठकमा राखेका थिए।
‘यो मोर्चा, मोर्चाको रुपमा मात्रै बस्नु हुँदैन, यसले जनताले सोचेको, बुझेको विषय उठाएर अगाडि बढ्नुपर्छ,’ आफूले राखेको मत सुनाउँदै गौतमले भने, ‘एउटा शक्ति निर्माण गरेर राज्यलाई समाजवाद निर्माण गर्नेगरि अगाडि लैजानुपर्छ।’
आफ्नो प्रस्तावमा प्रचण्ड, माधव नेपाल, विप्लव लगायत सबै नेता सहमत भएको समेत गौतमले बताए। मोर्चामा आवद्ध दलहरुबीच एकताबारे भने खासै चर्चा नभएको र त्यो अहिले सम्भव समेत नभएको उनको भनाइ छ।
बैठकले मोर्चालाई थप विस्तारको प्रयास गर्ने समेत निर्णय गरेको छ। समाजवादी कार्यदिशा बोकेका सबै पार्टीलाई मोर्चामा आउन आह्वान गर्ने निर्णय भएको बैठकमा सहभागी एकीकृत समाजवादी मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए।
‘यसको सांगठनिक विस्तारमा पनि काम गर्ने भन्ने भएको छ,’ उनले नेपालखबरसँग भने, ‘समाजवादी कार्यदिशा बोकेका र समाजवादी कार्यक्रम अंगाल्ने पार्टीहरुसँग समाजवादी मोर्चामा आउनका लागि आग्रह गर्ने निर्णय भएको छ।’
त्यस्तै वर्षाका कारण सार्वजनिक कार्यक्रम गर्न सम्भव नभए पनि ‘इन्डोर’मा गर्न सकिने कार्यक्रम छिट्टै तय गर्ने निर्णय भएको समेत हमालले जानकारी दिए।
‘चैत १५ गते गरिएको कार्यक्रम अत्यन्त प्रभावकारी भयो भन्ने भयो,’ उनले भने, ‘त्यसपछाडि मोर्चाको काम प्रभावकारी गर्न सकिएन भन्ने निष्कर्ष सबैको बन्यो। अब ७ वटै प्रदेशमा कुनै न कुनै गतिविधि बढाउने भन्ने भएको छ। इन्डोरमा गोष्ठी, सभा गर्न सकिएला कि भन्ने छ।’
इन्डोरमा गर्न सकिने सम्भावित त्यस्ता कार्यक्रम मोर्चाको सचिवालयले तय गर्ने छ। त्यसलाई मोर्चाको अर्को बैठकमा पेस गरिने छ।
सचिवालयमा देव गुरुङ, प्रमेश हमाल, खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरू छन्। महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले भने सचिवालयमा रहने व्यक्तिको नाम दिन बाँकी छ।
Shares

प्रतिक्रिया