जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवले पार्टीको केन्द्रीय विभाग र जनवर्गिय संगठनका प्रमुखहरूलाई पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्।
अध्यक्ष यादवले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नु पर्ने बताए।
‘जसपा नेपालले बलियो ढंगले उठाउँदै आएको मुद्दाहरू प्रष्ट रुपले अझै जनताबीच पुग्न सकेको छैन। ती मुद्दाहरू जनतामा पुर्याउने र उहाँहरूलाई बुझाउने काम तपाईँहरूको हो,' अध्यक्ष यादवले भने,‘पार्टीपंक्तिलाई अब न विश्राम गर्ने समय छ, न छूट छ, तपाईहरू सम्पूर्ण शक्ति लगाए आगामी चुनावको तयारीमा होमिनुस्।’
पार्टीलाई बलियो बनाउन संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो।
‘निर्वाचनमा आफ्ना कार्यक्षमताहरूलाई थप विकसित गर्नु आवश्यक छ, जनता माझ मुद्दा पु¥याउन र सशक्त संगठन निर्माण अपरिहार्य छ,’ अध्यक्ष यादवले भने।
मधेश प्रदेशसहित देशैभरी पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई अझ व्यापक बनाउँदै लैजानु पर्नेमा जोड दिँदै अध्यक्ष यादवले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान समेत गरे।
बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय संगठनहरूको भूमिकालाई थप प्रभावकारी बनाउने बारे पनि छलफल भएको बताइएको छ।
Shares

प्रतिक्रिया