राजनीति


बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदको अविश्वास प्रस्ताव दर्ता

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदको अविश्वास प्रस्ताव दर्ता

मुख्यमन्त्री लामा।


नेपालखबर
साउन ९, २०८२ शुक्रबार १८:३, काठमाडौँ

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। उनलाई दलको नेताबाट हटाउन उनकै पार्टी नेपाली कांग्रेसका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।  

लामालाई हटाएर अर्का प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन २१ सांसदले हस्ताक्षरसहित संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको आजै मात्र सहकारी तथा गरिबी निवारणमन्त्री पदबाट राजीनामा दिएका मदुकुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

'अविश्वासको प्रस्ताव दलमा दर्ता भइसकेको छ। अहिले हामी अन्य छलफलमा छौँ,' उनले भने। लामालाई अविश्वासको प्रस्ताव पेस गरेर बहुमत सांसदहरूले मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन लागेका छन्।  
बागमतीमा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज एक वर्ष पूरा भएकै दिन आफ्नै पार्टी कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन्। ९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए। 

उनी तत्कालीन अवस्थामा मुख्यमन्त्री बन्दा मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँलाई वर्ष दिनपछि पद छोड्नुपर्ने लिखित सहमति भएको बताइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सहमतिअनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैँले दबाब दिनुपरेको प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले बताए। 

यसअघि २०७९ पुस १३ गते भएको निर्वाचनमा लामा बानियाँलाई ५ मतले हराएर दलको नेता निर्वाचित भएका थिए।

उनीसँगै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले राजीनामा बुझाएका हुन्।

१४ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्री लामा सहित ८ जना सरकारमा सहभागी थिए। यी ४ जना बाहेक सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, खानेपानी तथा ऊर्जा सिंचाइँ मन्त्री श्याम खड्काले भने राजीनामा दिएका छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad