नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनबारे छलफल भएको छ। कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन हुँदैछ।
आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी, केही नेता र मन्त्रीहरू सहभागी छलफलमा उपनिर्वाचनबारे छलफल भएको हो।
बैठकमा रुपन्देहीका कांग्रेस सभापति रामकृष्ण खाणले स्थानीय राजनीतिको विषयमा जानकारी गराएका थिए। त्यसपछि लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देही-३ को पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराए।
'जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी सभापति अम्मरसिंह पुन, बालकृष्ण खाणले उपनिर्वाचनमा पार्टी कसरी परिचालन गर्न सकिन्छ भनेर स्थानीय राजनीतिक घटनाक्रमसँग जोडेर जानकारी गराउनुभयो,' केसीले नेपालखबरसँग भने, 'उहाँहरू सबैले पार्टीभित्र एकता कायम हुन सके अहिले पनि रुपन्देही-३ मा कांग्रेस बलियो नै छ भनेर भन्नुभयो।'
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले नै सबैभन्दा धेरै मत ल्याएको विषय राख्दै उम्मेदवारका आकांक्षी बालकृष्ण खाणले त्यही मत आउने चुनावमा कायम गर्न तर्फ लाग्नुपर्ने बताएका थिए।
गत निर्वाचनमा उनै खाण राप्रपाका दीपक बोहोरासँग पराजित भएका थिए। उनै बोहोराको २०८१ चैत १९ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
एक नेताका अनुसार आजको छलफलमा रामकृष्ण खाणसहितले कांग्रेसका रुपन्देही-३ मा कांग्रेसले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा हुन सक्ने बिफिङ गरेका थिए।
'आउने चुनावमा वर्तमान राजनीतिक गतिविधि र क्रियाकलापहरू हेर्दा उम्मेदवार छनोटमा धेरै ध्यान दिनुपर्ने हुन्छ,' खाणले बैठकमा भनेका थिए, 'एमाले र रास्वपा हाम्रो मुख्य प्रतिस्पर्धा हुन सक्छन्। यसपटक स्वतन्त्र उम्मेदवारहरू पनि धेरै हुने देखिन्छ त्यसैले हामीले एकता कायम राखे हामी नै पहिलो हुनेछौँ।'
त्यसपछि सभापति देउवाले यसबारे चासो राखेका थिए। उनले सोधेका थिए, 'रवि लामिछाने पनि त्यहीँ हैन। उनी सहकारी ठगीको मुद्दामा जेल परेका छन् उनीहरूकै माहोल राम्रो कसरी भयो? यसमा सबैले ध्यान दिनुपर्छ। पार्टीका उम्मेदवारलाई जिताउन सबै एक हुनुपर्छ।'
०७९ को निर्वाचनमा यहाँ समानुपातिकतर्फ २० हजार २७९ मत कांग्रेसले ल्याएको थियो। दोस्रो धेरै मत ल्याउने एमालेले १६ हजार ९८६ मत, तेस्रो भएको रास्वपाले १४ हजार १५४ मत, चौथो भएको राप्रपाले ९ हजार १५४, नागरिक उन्मुक्तिले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ मत, जनमतले ३ हजार ६३२ र माओवादी केन्द्रले २ हजार ६३७ मत पाएको थियो।
जिल्ला सभापति खाण र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाण दाजुभाइ हुन्। कांग्रेसका केही नेताले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा नटुंगिएकोले खाणलाई उम्मेदवार बनाउन नहुने बताइरहेका बेला आजको बैठकमा भने खाणले आफू उम्मेदवार हुने र यसका लागि सहयोग गर्न भनेका थिए।
०७९ को निर्वाचनमा निर्वाचित भएका बोहोराले ३६ हजार ७१७ मत र तत्कालीन अवस्थामा गृहमन्त्रीसमेत रहेका खाणले ३४ हजार ३६ मत ल्याएका थिए।
Shares

प्रतिक्रिया