राजनीति


शेखर कोइरालाको सक्रियता केको लागि?

शेखर कोइरालाको सक्रियता केको लागि?

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १९:२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र र बाहिर छलफल बाक्लो बनाएका छन्।

सरकार र पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिरहेका शेखरले पछिल्लो दुई हप्तायताका दुई भेटले निकै चर्चा पायो।

पहिलो, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग र दोस्रो, हालै मात्र नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी विद्यादेवी भण्डारीसँगको भेट।

यी दुई भेटमा शेखरले सरकारको कामकारबाहीबारे छलफल गरेको उनीनिकट नेता गुरुराज घिमिरे बताउँछन्।

‘उहाँ (शेखर)ले दुई नेतासँगको भेटमा पनि यही सुशासन र सरकारको कामकारबाहीबारे नै छलफल गर्नु भएको हो,’ घिमिरेले नेपालखबरसँग भने, ‘यो सरकार जुन सर्त र विश्वास तथा भावनामा बन्यो, त्यो अनुरुप देखिएन।’

दुई ठूला दल मिलेर सरकार बने पनि जनतामा आशा जगाउन नसकेको उनको भनाइ छ। 

‘संविधान संशोधनको छलफल पनि सुरु भएन, सुशासन कायम हुनै सकेन, जनजीवनमा जनताले भोगिरहेका समस्या सम्बोधन हुने छाँटकाँट भएन। जनताको चित्त बुझ्ने गरी सरकारका कामकारबाही अघि बढेन,’ उनले थपे, ‘यसैलाई शेखर दाइले बारम्बार उठाउँदै आइरहनुभयो। पार्टीभित्र उठाउनुभयो, बाहिर उठाउनुभयो, सभापतिलाई भेटेर उठाउनुभयो। मन्त्रीहरू विभिन्न काण्डमा मुछिएका छन्। जनतामा आशा जगाउने हिसाबले बनेको सरकार हो। तर काम यस्तो छ।’

शेखरले आइतबार मात्रै दुई चरणमा आफूनिकट नेता, मन्त्री र सांसदहरूसँग पनि छलफल गरेका थिए।

‘सरकार ट्रयाकबाहिर गइसक्यो। पार्टी त्यस्तै छ। मन्त्रीहरू पार्टी र सरकारलाई बद्‌नाम गराउने गरी काम गरिरहेका छन्,’ छलफलमा सहभागी एक सांसदले शेखरलाई उदृत गर्दै भने, ‘भिजिट भिसा प्रकरणले कांग्रेसलाई ठूलो क्षति भयो। छानबिनमा पनि पार्टीले कुनै कामकारबाही अघि बढाएन। देशमा सुशासन कायम गर्न अब यसरी भएन। सबै एक ठाउँमा उभिएर दबाब दिन लागौँ।’

आज आफूनिकटसँग छलफल गरेका शेखरले केही दिनभित्रै दलका अन्य सांसदहरूसँग पनि छलफलको तयारी गरिरहेको जानकारी गराएको ती सांसदले बताए। 

आजको छलफल दलको नेता परिवर्तनमा केन्द्रित नभएको उनले बताए। उनले भने, ‘संसदीय दलको नेता फेर्नेबारे खासै कुरा भएन। यसलाई वैकल्पिक रणनीतिमा राखिको छ। आज सरकारप्रति जनमानसमा बढेको वितृष्णका विषयमा छलफल भयो।’

नेता फेर्नेबारे बैठकमा शेखरले छलफलमा भनेका थिए, ‘दलको नेता फेर्नेबारे अहिले सोचिहाल्ने बेला भएको छैन। पहिले त सातबुँदे सहमति कार्यान्वयनबारे फेरि ध्यानाकर्षण गराऔँ। हाम्रो पार्टीको संसदीयको नेतृत्व परिवर्तन गर्ने कुरासहितका केही विकल्प त बाँकी नै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad