नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नै पार्टीबाट सरकारमा रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले संघीय मामिलामन्त्री राजकुमार गुप्ताले घुस प्रकरणकै कारण राजीनामा दिएको उल्लेख गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीतर्फ संकेत गर्दै अझै असिनपसिन रहेको टिप्पणी गरेका हुन्। मन्त्री अधिकारीले संसद् बैठकमै आफूले कुनै घुस नलिएको र कुनै घुसको प्रकरणमा नजोडिएको दाबी गरेका थिए।
रिजालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको विषयलाई जोड्दै मन्त्री अधिकारीमाथि प्रश्न उठाएका छन्। आचार्य मंगलबार मात्रै पक्राउ परेका हुन्। उनीसँगै सोही कार्यालयका नायब सुब्बा दीपक अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा छन्।
भक्तपुरका मालपोत प्रमुख आचार्य घुससहित अख्तियारको नियन्त्रणमा
‘यस्तो हिम्मतसँग कायल नभइरहन सकिएन। घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन्,' रिजालले लेखेका छन्, ‘यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन्। यो उनको मात्रै हिम्मत होला त? यस्तो काम चुपचाप कति भइरहेको होला- मालपोत र नापीमा?’

Shares

प्रतिक्रिया