राजनीति


सांसद गौतमले सदनमा उठाएका ४ कुरा

सांसद गौतमले सदनमा उठाएका ४ कुरा

नेपालखबर
असार ३१, २०८२ मंगलबार १५:५६, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले प्रतिनिधिसभाको विशेष समयमा देशमा भइरहेको प्राकृतिक विपत्तिका घटना, किसान हुँदै वर्तमान राजनीतिका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।  

मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले देश प्राकृतिक विपत्तिको संकटमा रहेको बताउँदै बाढी पहिरोले जनता पीडामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

पहिलो विषय उनले बाढी पहिरो र प्राकृतिक विपत्तिको विषय उठाइन्। 

'सरकारको पूर्वतयारी देखि राहत तथा उद्वार कार्य सुस्त र असंगठित देखिएको छ। पहिरो वाढी र डुबान हाम्रो प्रत्येक बर्षका पीडा हुन तर, दु:खको कुरा के हो भने, प्रत्येक बर्ष उही संकटमा परेर टालटुल उपाय गर्दै आएका छौँ न पूर्व तयारी  न दीर्घकालिन समाधान,' उनले भनिन्, 'प्रत्येक बर्ष यस्ता आपत् आइरहँदा राज्यको नीति पूर्वतयारी र जोखिम न्यूनीकरण किन प्रभावकारी हुन सकेन? सरकारको विपत व्यवस्थापन संरचना कागजमा बलियो तर कार्यान्वयनमा विलम्ब समन्वय बिहीन छ। यो नीतिगत असक्षमता हो कि  उपेक्षा हो? यस बर्ष झनै धेरै बर्षा हुने अनुमानको साथ २० लाख मानिस प्रभावित हुने भनिएको छ, सरकारको गम्भीरता खै?'

उनले उठाएको अर्को विषय हो कृषि। सांसद गौतमले ६० प्रतिशत बढी जनसंख्या कृषिमा जोडिँदा मलको हाहाकार, गुणस्तरीय बिउको अभाव, बजारको अनिश्चितता हुनु दु:खद् भएको बताइन्।  

'देशको ६०% भन्दा बढी जनसंख्या कृषिमा आर्षित छ। हरेक बर्ष मलको हाहाकार, गुणस्तरीय विऊको अभाव, बजारको अनिश्चतामा अल्झिएका छौँ। कृषकले खेतमा पसिना बगाउछन्, सरकार बेखबर भएर मल खरिद प्रकृया अलमलमा छ,' उनले भनिन्, 'मल आपूर्तिमा हुने अनियमितता र ढिलाइ नियोजित ढंगले भइरहेको आशंका किसानले गरिरहेका छन्। हाम्रो कृषि प्रणाली गंभिर संकटमा परेको छ। बिऊको गुणस्तर अनुगमन बिनानै भइरहेको छ। किसानले उपादन गरेपनि बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्यको अभावले गर्दा उनिहरु निरास भएका छन् । सदनमा मन्त्रीले जवाफ दिनु‌भएको छ, तर समस्या उस्तै छ।'

रासायनिक मल कटौती गर्दै प्रांगरिक मलको प्रयोगमा जोड दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

'कृषिमा आत्मनिर्भरता भने सरकारको नारा कागजी मात्र भयो। जबसम्म किसानको श्रमलाई राज्यले संरक्षण गर्दैन्, किसान कृषि व्यवसायबाट पलायन हुँदै जाने छन्, यसमा सरकार गभ्मीर हुन जरूरी छ' उनले भनिन्।

उनले उठाएको तेस्रो विषय थियो सुशासन। भ्रष्टाचारमा शून्य सहनशीलता नीतिको कुरा गरे पनि सरकारमै रहेकाहरूको संलग्नता यस्तै घटनामा हुनु गम्भीर भएको उनको भनाइ छ। 

'हामी भष्ट्राचारमा शून्य सहनशीलता नीतिको कुरा गर्छौँ। हाम्रो सरकार प्रमुखले सगौरव भन्ने गर्नुहुन्छ- म भष्ट्राचार गर्दिनँ, र गर्न पनि दिन तर बिडम्वना हालै मात्र मन्त्रिपरिषद्का सदस्य संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिल गरिरहेको अडिओ संवाद सार्वजानिक रुपमा छताछुल्ल भएको छ। यसरी छताछुल्ल भएको अडिओमा अर्को मन्त्रीको पनि सलग्नता बारे बोलेको सुनिन्छ,' उनले थप भनिन् 'यो सार्वजनिक चासो र चिन्ताको विषय बनेको छ। प्रधानमन्त्री अभिव्यक्तिमा जस्तै काममा खरो रुपमा उत्तनु‌होस्, मेरो शुभकामना छ।'

गौतमले उठाएको अर्को विषय हो नयाँ राजनीतिक दलको। राष्ट्रवाद र सुधारको नाममा जनतालाई लोभ्याउन जान्नेलाई छान्नेहरू आज दोहोरो नीतिमा रहेको उनको आरोप छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई लक्षित गर्दै भनिन्, 'दोहोरो नीति लिँदै आम जनतालाई भ्रमित बनाएको अरुलाई नैतिकताको पाठ पढाएको देख्दा अचम्म लाग्छ। एकतिर कानुनी प्रकृया र नीति छन् संसदको आफ्नै संचालन विधि छ, स्थापीत मानक छन्। तर उहाँहरू आफ्नै ढिपीमा हुनुहुन्छ। जसका कारण सिंगो सदलाई अनावश्यक रूपमा प्रभाव पार्न खोज्नु भएको छ।'

उनले रवि लामिछाने भिजिट भिसामा गएर अमेरिकामा बसेको पहिलेको कुरा पनि कोट्याइन्।  'जुन पाटीका सभापति आफै भिजिट भिसामा गएर अमेरिका बेपता भएका तथ्यहरु सार्वजनिक भईरहेका छन, फेरी नागरिकता, दोहोरो पास‌पोर्ट काण्ड हुँदै सहकारी ठगीमा जेल - माननीय ज्यूहरुलाई हेक्का रहोस् आकाशतर्फ फर्केर थुक्दा त्यसको बाछिटा आफ्नै मुखमा पर्ने हो,' रास्वपालाई लक्षित गर्दै भनिन्, 'आफ्नो अभिव्यक्त सुनाउँदै गरिने दैनिक संसद् बहिष्कार सजिलो लोकप्रियता बादको एउटा नमुना हो। जसले लोकलाई भ्रमित गर्ने कडीको रुपमा संसद्लाई प्रयोग गरेको देखिन्छ।'

उनले सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भनेर गरिएको हस्ताक्षर अभियानको पनि विरोध गरिन्।  
 
'अब त कुनै अपराध गर्‍यो अनि ठगी बेइमानी, चोरी वा अन्य अपराधमा संलग्न हुनेहरुले पनि  अदालतलाई आफ्नो अनुकूल प्रभाव पार्ने गरी हस्ताक्षर गर्दै हिड्ने अवस्था देखियो,' उनले भनिन्, 'यो त योजनाबद्ध ढंगबाट गरिएका नक्कली अभियान हो। अब प्रश्न उठ्नैपर्छ रास्वपाको एजेण्डा के हो? जनताको सेवा? नाटक, षडयन्त्र या चन्दा संकलन?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad