राजीनामा दिने चर्चाका बीच मन्त्रिपरिषद् बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी भएका छन्।
घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ताले बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै भेटेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका थिए। प्रधानमन्त्रीको सचिवालयले पनि भेटसम्बन्धी कुनै जानकारी सार्वजनिक गरेको छैन।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने भन्दै पार्टीभित्रैबाट पनि दबाब छ।
एमालेकै सांसद किरणकुमार साहले सोमबार संसदमै मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका थिए। प्रतिनिधि सभाको बैठकमा उनले यस विषयमा सरकार मौन रहेको भन्दै आपत्तिसमेत जनाए।
‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ?’ सांसद साहले भने, ‘दुनियाँले सुनेको अडिओ सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।’

एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको र प्रधानमन्त्रीले तत्कालै एक्सन लिने बताएका थिए। उनले नेपालखबरसँगको कुराकानीनमा सोमबार दिउँसो भनेका थिए, ‘यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएर सरकारलाई तत्काल एक्सन लिन भनिसकेको छ। प्रधानमन्त्रीले पनि गम्भीरतापूर्वक लिनुभएको छ। उहाँले नै आवश्यक कारबाही गर्नुहुन्छ। भरेसम्म केही आउला।’
२०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। उनी पर्सा-३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन्।
के हो घुस डिल प्रकरण?
२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ। यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। तर, आफूले कुनै गल्ती नगरेको मन्त्री गुप्ताको दाबी छ।
यसै प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले संसदमा प्रश्न उठाउने सांसदहरूलाई नै प्रमाण देखाउन चेतावनी दिएका थिए।
Shares

प्रतिक्रिया