राजनीति


घुस प्रकरणबारे भूमिमन्त्री अधिकारी भन्छन्: आरोपले म डराउनेवाला छैन

घुस प्रकरणबारे भूमिमन्त्री अधिकारी भन्छन्: आरोपले म डराउनेवाला छैन

नेपालखबर
असार ३०, २०८२ सोमबार १७:५, काठमाडौँ

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जनताको काम गर्ने कुरामा आफू नडराउने बताएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले कुनै गलत काम गरेको भए तथ्य देखाउन चुनौती दिए। 

माओवादी केन्द्रका सांसद माधव सापकोटाले घुस प्रकरणमा तपाईँको पनि नाम आएको कुरा के हो? भनेर प्रश्न सोधेका थिए।

त्यसको जवाफ दिँदै मन्त्री अधिकारीले गलत आरोप लगाइएको दाबी गरे। 

‘आयोग या यहाँ आएका सदस्यहरू बनाउने सन्दर्भमा म मात्र होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहिँ कतै त्यस्तो कारोबारलाई डिल गरेको रहेछ भने यथार्थ जानकारी ल्याइदिनुस् कानुनी कारवाही भोग्न तयार छौँ,’ उनले भने, ‘तर, अनावश्यक रुपमा हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने कामतिर यहाँहरू नलाग्नको निम्ति अनुरोध गर्न चाहन्छु। जहाँसम्म किन अहिलेसम्म यथार्थ कुरा आएन भन्ने कुरा हो, कसैले कहिँ चौराहमा कुरा गर्छ, कसैले घरमा कुरा गर्छ, भने हामीले त्यसको उत्तर खोजिराख्नुपर्छ भन्ने मलाई लाग्दैन। सत्य सत्य नै हुन्छ। तथ्य तथ्य नै हुन्छ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले २०८१ पुसमा भूमि आयोगको अध्यक्ष बनाइदिन भन्दै २५ लाख र कर्मचारीको सरुवा रोक्न भन्दै ५३ लाख घुस लिएको अडियो सार्वजनिक भएको थियो।

जुन अडियोमा मन्त्री गुप्ताले मन्त्री अधिकारीको समेत नाम लिएका छन्। यही विषयले संसद् तातेको छ। एमालेकै सांसदहरूले घुस प्रकरणमा मुछिएका मन्त्री बर्खास्त गर्न माग गरेका छन्। तर, मन्त्री अधिकारी जसले गल्ती गरेको छ उसैले सजाय भोग्ने बताउँछन्। 

‘जुन औँलामा विष लाग्छ त्यही औँलो झर्छ,’ उनले भने, ‘म बाहिर पनि गएको थिएँ यो बीचमा। बल्ल आज सिधैँ यहाँ संसद् आएको छु। मैले त्यस विषयमा सुनेको आधारमा के गर्नुपर्छ, सार्वजनिक गर्नुपर्ने मलाई महसुस भयो भने म सार्वजनिक गर्नेछु।’

सांसदहरूलाई तथ्यको आधारमा अघि बढ्न उनले आग्रह गरे।

‘नेपाल सरकारमा बसेर, जनताको काम गर्ने जिम्मेवारी लिएर जनताको काम गर्ने हो, नमिलेका कानुन मिलाउने हो,' उनले भने, 'जनताका समस्या हल गर्ने कुरामा कुनै आरोप आए पनि म डराउने वाला छैन र मैले विधिसम्मत काम गर्ने कुरा जानकारी गराउन चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad