राजनीति


सुनीताले पेल्न थालेपछि कार्यपालिका बैठक राख्न तयार भएका थिए बालेन

सुनीताले पेल्न थालेपछि कार्यपालिका बैठक राख्न तयार भएका थिए बालेन

नेपालखबर
असार २७, २०८२ शुक्रबार २०:४३, काठमाडौँ

वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा नेकपा एमालेले गरेको युथ सेलिब्रेसन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले प्रमुख बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै भनेकी थिइन्, 'स्टन्ट गरेर देश बन्दैन। अरूलाई गाली गरेर देश बन्दैन। देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ।’

त्यतिबेला काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालयमा हाजिर गराउने र नगराउने विवादमा बालेन र डंगोलबीच दूरी बढेको थियो। 

काठमाडौँ भ्यु टावरको तला थप गरिएको नक्साको विषयलाई लिएर गुरागाईँमाथि कारबाही हुनुपर्छ भन्दै बालेनले छानबिन समिति नै बनाएका थिए। पटकपटकका छानबिन समिति गठन, पुनर्गठन र विघटन भएपछि बालेनले विभागीय राय लेख्न लगाएर मन्त्रालयमा पठाएका थिए।

उनको माग थियो, गुरागाईँलाई सरूवा गरी अर्को अधिकृत पठाइयोस्।

तर, एमाले नेतृत्वको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बालेनको कुरा सुन्ने पक्षमा थिएन। अझ सहसचिवस्तरका कर्मचारीको खटनपटन मन्त्रिपरिषद् बैठकले नै गर्छ र मन्त्रिपरिषद्को नेतृत्व पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन्। ओली-बालेन बाझाबाझ सार्वजनिक तहमा छताछुल्ल भइरहेकै थियो।

महानगरपालिकामा विवाद बढिरहेकै बेला एमाले र नगरप्रमुख बालेनबीच सामाजिक सञ्जालमा पनि दोषारोपण चल्यो। बालेनले प्रधानमन्त्री ओलीलाई लक्षित गरी विभिन्न पोस्ट गर्न थाले भने एमालेहरू उनीविरुद्ध खनिँदै गए।

२०७९ को स्थानीय तह निर्वाचनयता लामो समय चुप बसेकी उपप्रमुख डंगोल पनि वैशाखबाट बालेनविरुद्ध खरो उत्रिन थालेकी हुन्। 

उनै डंगोलकै नेतृत्वमा महानगरका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई स्वागत भयो। 

गुरागाईँ ३ महिना १४ दिनपछि चैत २१ गते हाजिर भएका थिए। गुरागाईं कार्यालय जाँदा बालेनले नगर प्रहरीमार्फत अवरोध गरेका थिए। ढोकामा ताल्चा लगाइदिएका थिए। कर्मचारीहरूले ताल्चा फुटाएर कार्यकक्ष प्रवेश गरेका थिए। यसमा डंगोललाई अधिकांश वडाअध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूले साथ दिएका थिए। 

बालेन भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको उनको कार्यालयमै सीमित हुँदै गएका थिए।

बैठक डाक्न कसरी तयार भए बालेन?
६ महिनाभन्दा लामो समयसम्म कार्यपालिका बैठकसम्म बस्न सकेको थिएन। महानगरमा विकास निर्माणदेखि नीतिगत निर्णयका कामहरू ठप्पप्रायः थिए। धेरै कर्मचारीको काम कार्यालय जाने र दिनभर कुरा काटेर फर्किनेजस्तै भइरहेको थियो।

गुरागाईँको मुखै नहेर्ने भन्दै सभागृहको कार्यकक्षमा केही सहयोगीहरूले घेरिएर बस्नु बालेनको दैनिकी बन्न पुगेको थियो।

यो अवस्था चिर्न डंगोलले बाहिरबाट दबाब दिने र भित्रचाहिँ बालेनसँग छलफल अघि बढाउने प्रयास गरिन्।

दबाबका निम्ति उनले विभिन्न समिति, नगर कार्यपालिका र नगरसभाका बैठक समेत राखिन्। नगर प्रमुखको उपस्थितिबिना ती बैठकले वैधता प्राप्त गर्न सक्ने अवस्था नभए पनि बालेनमाथि दबाब सिर्जना गर्न भने फलदायी बनेको डंगोल निकटस्थहरूको भनाइ छ। 

डंगोलले असार १० गते राति पनि बजेट तर्जुमा तथा कार्यकम समितिको अनौपचारिक बैठक बोलाइन्। कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटकपटक दबाब दिँदा पनि बालेनले बेवास्ता गरेको, आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नसमेत पहल नगरेको र यही कारण काठमाडौँ महानगर समयमा बजेट ल्याउनबाट चुकेको निष्कर्ष त्यस बैठकले निकाल्यो। साथै बैठकले बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

त्यसको भोलिपल्ट बैठकको निर्णयसहित औपचारिकरूपमा बालेनलाई ध्यानाकर्षण गराइएको थियो।

त्यस्तै असार २२ गते उनले महानगरका प्रवक्ता नवीन मानन्धरसहित केही प्रतिनिधि लिएर बालेनसँग भेटघाट गरिन्। प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना कार्यपालिका बैठक र नगरसभा बस्ने कुरा कानुनसम्मत नहुने कुरा राखिन्।

‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ बालेनसँगको भेटपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।’ 

‘मेयरसापसँग छलफल गरेर कार्यपालिका बैठक बोलाउने, बजेट ल्याउनेबारे कुरा गर्ने भनेर उपमेयरले केही काम गर्नुभएको थियो,’ महानगर स्रोतले भन्यो,‘दबाबस्वरूप अनौपचारिक रूपमा नगरसभा। नगर कार्यपालिका लगायत संयन्त्रको बैठक राख्नुभयो। बजेटमाथिको छलफल अघि बढाउनुभयो। मेयरसापसँगै पनि कुरा गर्नु भएको थियो।’

नगर कार्यपालिकामा एक्लिने अवस्था आएपछि बालेनले डंगोलको प्रस्तावअनुसार शुक्रबार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक राख्न राजी भए।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि २५ अर्बको सीमा तोकेको छ।

त्यसलगत्तै कार्यपालिका बैठक बस्यो। ४५ सेकेन्डमै सकिएको बैठकमा एउटा मात्रै एजेन्डा पेस गरेर पारित गरियो। 

आइतबार कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने एजेन्डा बालेनले प्रस्तुत गरे। कार्यपालिका सदस्यहरूले टेबुल ठोक्दै पारित समर्थन जनाए। अर्को बैठक असार २९ गते बस्ने र त्यही दिन नगर सभा बस्ने जानकारी गराउँदै उनले बैठक पनि सकिएको घोषणा गरे।

‘४० औं बैठकमा स्वागत छ। आज २४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ। नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु,’ उनले बैठकमा भने, ‘अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु।’ 

स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनले प्रत्येक वर्षको असार १० गते बजेट ल्याउनुपर्ने भनेको छ। तर, राजधानी महानगरपालिकाले यस व्यवस्थाको पालना त गर्न सकेन नै, असारभित्रै ल्याउन नसके बजेट होलिडे हुने अवस्था थियो। 

एकातिर बालेन एक्लिँदै गएका र अर्कोतिर बजेट होलिडेमा जाँदा कुनै पनि खर्च गर्न र राजस्व उठाउन नपाइने अवस्था हुने भएकाले यसै महिनाभित्र बजेट ल्याउन बालेन तयार भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad