राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको आफूले नभनेको स्पष्ट पारेकी छिन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको भन्ने विषयमा उनले स्पष्टीकरण दिइन्।
‘सभामुख महोदय यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ, पछि थाहा भयो,’ गौतमले भनिन्, ‘प्रधानमन्त्रीको सचिवालयबाट चुनौती पनि आएको रहेछ। केही माननीयहरुले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ। सभामुख महोदय रास्वपा जिम्मेवार पार्टी हो। मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन। राम्रोसँग कान खुलेर सुन्नुहोस्।’
उनले प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा अरु धेरै नेपाली पनि गएको र नेपाल नफर्किएको दाबी गरिन्।
‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ गौतमले भनिन्, ‘यो सत्य हो, प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल पर्किनुभयो। तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानु भएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन्। प्रधानमन्त्री जानु भएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो। दशौं हजार सहभागी हुन्छन्। नेपालबाट केही कार्यक्रममा गएर नफर्किएको पनि साँचो हो।’
Shares

प्रतिक्रिया