राजनीति


राष्ट्रपति कार्यालयबाट संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही र सरकारका गतिविधिप्रति प्रचण्डको आक्रोश

राष्ट्रपति कार्यालयबाट संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही र सरकारका गतिविधिप्रति प्रचण्डको आक्रोश

तस्बिरः प्रचण्ड सचिवालय


नेपालखबर
असार २०, २०८२ शुक्रबार १८:२१, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र शान्ति प्रक्रियासहित अहिलेको परिवर्तनमा दिवंगत गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।

कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा आज शीतलनिवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायलयका गतिविधि जनतासँग गरेको कबुलविपरीत भैरहेको बताए।

प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावनाअनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाए। उनले भने, ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौँ ?’

कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए। ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि- के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ?’ प्रचण्डको प्रश्न थियो।

आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै भने, ‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ। अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन्। निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ।’

कार्यक्रममा उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए। ‘सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ- यो सबै गम्भीर समीक्षा आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने।

कार्यक्रममा अध्यक्ष प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad