राजनीति


रवि लामिछाने भेरियन्ट मोहन बस्नेतमा देखियो: कांग्रेस नेता अजयबाबु सिवाकोटी

रवि लामिछाने भेरियन्ट मोहन बस्नेतमा देखियो: कांग्रेस नेता अजयबाबु सिवाकोटी

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८२ बिहिबार १५:१६, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर पार्टीका केन्द्रीय सदस्य मोहन बस्नेतमाथि टिप्पणी गरेका छन्।  

जारी केन्द्रीय समितिको बैठकमा बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाकै कारणले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा दायर गरेको अभिव्यक्ति दिएका थिए। उनको यही अभिव्यक्तिको प्रकृतिलाई सिवाकोटीले लामिछानेसँग जोडेका हुन्। 

'तपाईँ (देउवा)कै सामुन्ने बुधबार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौँ?,' उनले भने, 'होइन भने ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नू भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दासमेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौं?' 

सिवाकोटीले बीपी कोइरालासहित अग्रजले सुरु गरेको पार्टीको संस्कार यहि हो? भन्दै सभापतिमाथि प्रश्न गरे।  

'सभापतिलाईई सोध्न चाहन्छु- यो अराजकता कहिलेसम्म? मर्यादाहीन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौँ। त्यसैले मेरो आग्रह छ यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस्,' उनले थपे, 'केहि समयअघी सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसदको रोष्ट्रममा उभिएर आफूलाई फसाउन खोज्ने काँग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको बताएका थिए। बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतमा देखियो। लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतलाई मेरो आग्रह छ तपाईँ फाइल छ फाइल छ भनेर किन घुर्क्याइरहनुभएको छ? थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ? थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्वन्धित निकायमा नदिएको ? तपाई आफू डामिसक्नुभएको छ। महामन्त्रीलाई पनि कार्वाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस्।'

उनले पनि थापाकै शैलीमा कांग्रेसमा फोहोर नचाहिने बताए। बस्नेतले धम्कीपूर्ण शैलीमा आरोप लगाएपछि थापाले पनि फोहोर चलाउन नचाहेको प्रतिक्रिया दिएका थिए।  

यस्तो छ उनले बैठकमा राखेको  धारणा
सभापतिज्यू पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरु, केन्द्रीय समितिका अग्रज तथा साथी केन्द्रीय सदस्यज्यूहरु, प्रदेश सभापतिज्यूहरु
जय नेपाल।

आज म यो वैठकमा केहि सवालहरुका साथ उपस्थित भएको छु। म यो वैठकमा आम नागरिकले हामीलाई कसरी बुझ्न थालेका छन् ? उनीहरुको भावनासँग हामी कसरी एकाकार भएर जाने भन्ने बिषयमा घनिभूत छलफलको अपेक्षाका साथ उपस्थित भएको थिए । पार्टीले संचालन गरेको सय दिने अभियानको प्रतिवेदन माथि लामै विमर्श हुने र त्यसका आधारमा नयाँ कार्यक्रम तय हुने अपेक्षा गरेको थिए ।

अबको चुनावमा सबैभन्दा प्रभावशाली उपस्थिति जनाउने जेन्जी पुस्तासँग कसरी सहकार्य गर्दै उनीहरुलाई पार्टीमा आकर्षित गर्ने भन्ने बारेमा योजना बनाइने अपेक्षा गरेको थिए । पार्टीले सोसल मिडियामा सामना गर्नुपरिरहेको चुनौतीको चर्चा गर्दै त्यसबाट पार लाग्ने उपायको बारेमा मन्थन हुने अपेक्षा गरिरहेको थिए । हाम्रै पार्टीका परम्परागत मतदाता के सोचिरहेका छन् र कसरी उनीहरु अभिव्यक्त गरिरहेका छन् भन्नेमा छलफल हुने अपेक्षा गरेर बसेको थिए ।

श्रमिक गए,  विद्यार्थी गए,  देशबाट उद्यमी व्यवसायीहरु यहाँ उपस्थिति मात्रै जनाएर बाहिर गइरहेका बारेमा तथ्याङ्कसहित चिन्तन हुने अपेक्षा राखेको थिए । नयाँ पुस्ता जोडिन हिच्किचाइरहेको र पुरानो पुस्ता बिच्किरहेको कारण हामीले खोज्छौं होला भन्ने पनि अपेक्षा थियो ।

पार्टी केन्द्रीय समितिको बैठकमा यस्ता विषयमा कतिको चर्चा भयो होला भन्ने सोच्दै आज बिहान बालाजु पार्कमा हिँडिरहेको थिए। पार्कमा नियमित भेट हुने सभापतिज्यूकै उमेर हाराहारीका एकजना दाजुले भन्दै हुनुहुन्थ्यो:
“कांग्रेसले अब हामीलाई मत हाल्न जानु नपर्ने गरी सजिलो बनाइरहेको छ।”

सभापतिज्यू ती दाजुका कुराले म गम्भीर भए,
त्यो केवल तीतो टिप्पणी थिएन । यो हाम्रो परम्परागत मतदाता वर्गको चेतावनी थियो। यस्ता चेतावनीको भाषा तपाईहरुले कति सुनिरहुनुभएको छ ?

अवसर र जिम्मेवारी पाउँदा आम नागरिकको भरोसा जित्नुपर्ने ठाउँमा वेलगाम भएर मैमत्ता हात्ती जस्तो भएर हिडेपछि आम मानिस हाम्रो आरती गरेर बस्दैनन् । संघ र प्रदेशको बजेटपछि देशभर आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको प्रतिक्रिया र टिप्पणी त नेतृत्वगणले देख्नु सुन्नुभएकै होला ।

कांग्रेसको नेता कतै आरोपित हुँदा, अख्तियार र अदालतमा बयान दिन पुग्दा,  भ्रष्टाचारमा डामिदा तपाई हामीहरु भन्दा गाउँघरमा कांग्रेसको नाममा दियो वालेर कांग्रेसलाई बचाइरहेका कार्यकर्ता र मतदाताको शिर कति निहुरिन्छ भन्ने हेक्का हामीले राखेका छौं ? तपाई हामी जस्ता नेता कार्यकर्ताले लिएको निर्णय वा व्यवहार गलत हुँदा तपाई हामी भन्दा बढी रक्षात्मक कांग्रेसका तिनै मतदाता र कार्यकर्ता भइरहेका छन्। धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भएपछि अहिले आफ्नै समर्थक हामीलाई गाली गर्न थालेका छन् । के यस्को जानकारी हामीहरुले राखेका छौं ?

आम नागरिक र कार्यकर्ताहरू कांग्रेसको बारेमा अरु कसरी सोचिरहेका छन् ? सय दिने अभियान पछि केन्द्रीय कार्यालयमा प्राप्त जिल्लागत रिपोर्टहरूमा पनि यो कुरा आएकै होला । तनहुको रिपोर्ट मैले पनि बुझाएको छु ।

मेरै जिल्ला दोलखामा केन्द्रीय प्रतिनिधी भएर जानुभएका नेताज्यूले पनि दोलखा कांग्रेसको बारेमा त्यस्तै रिपोर्ट बुझाउने अपेक्षा गरेको थिए । तर विडम्बना आमसभामा आफ्नो महिमागान गाउने, विपक्षीलाई थर्काउने टेक्निक बाहेक दोलखा काँग्रेसले केहि पाउन सकेन। बरु हामीले एकजना हाम्रा नागरिक ज्ञान बहादुर तामाङ उहाँका कारण गुमायौं। भिमेश्वर नगरपालिका ६ का तामाङलाई उहाँको टीमले वेपर्वाह चलाएको गाडीले ठक्कर दिएर यमलोक पुर्‍यायो । पैसा र शक्तिको भरमा दवाव दिएर घटना सामसुम बनाइए पनि तामाङ परिवार अहिले पनि शोकबाट निस्कन सकेको छैन।

सभापतिज्यू
गत बर्ष २०८१ मंसिर ३ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले आफ्नो कार्यालय भवन उद्घाट्न गर्‍यो। दोलखाको सय दिने अभियानमा सहभागी हुन जाने क्रममा सिन्धुपाल्चोक कांग्रेसले गरेको निम्तो मान्न म पनि चौतारा पुगेको थिए । तर सो दिन सोहि जिल्लाका नेता कार्यक्रम बहिष्कार गरेर हुल बाँधेर दोलखातिर बरालिदै चौताराको कार्यक्रममा नजान सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरुलाई उर्दी जारी गरिरहनुभएको थियो। महामन्त्री गगन थापा प्रमुख अथिति रहेको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ता उर्दीको अवज्ञा गर्दै उत्साहजनक रुपमा सहभागि भए ।

सभापतिज्यू, कोहि मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो ? त्यस्ता सोच भएका व्यक्तिले तल नेता कार्यकर्तामा कस्तो संस्कार दिइरहेका होलान् सभापतिज्यू आफै विचार गर्नुहोला । दुखका साथ भन्नुपर्छ दोलखामा पठाइएका केन्द्रीय प्रतिनिधीबाट दम्भको प्रदर्शनबाहेक केहि सिक्न नपाएको दोलखाली कांग्रेसजनको गुनासो छ।

केहि दिन अघी पार्टीको पुस्तकालयमा संसदीय लोकतन्त्रको जननी बेलायतका एक नेपाली मूलका नेतालाई बोलाएर हाम्रो भगिनी सम्बन्ध रहेको लेबर पार्टीका अभ्यासहरुको बारेमा अन्तरक्रिया गरेका थियौ। पार्टीका नेताहरु कुनै बिषयमा आरोपित भएको अवस्थामा कसरी उनीहरुले प्रक्रिया पार गरेर पार्टीबाट अलग हुन्छन र पार्टीलाई रक्षात्मक बन्न दिदैनन भनेर सुन्न पाएका थियौ। दोषी नपाइए पार्टीमा पुनरागमन भए पनि सो समयसम्म पार्टीबाट अलग रहने नैतिकता बेलायती अभ्यासमा रहेको लेवर नेता डा बच्चुकैलाश कैनीले बताउनुभएको थियो। तर यहाँ भ्रष्टाचारको मुद्धाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साँटो उल्टै केन्द्रीय समितिमा थप समय लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरु र विशेषगरि पार्टीका महामन्त्री बिरुद्ध बिषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौ ?

सभापतिज्यू
हर बिषयको सीमा हुन्छ। भगवान श्रीकृष्णले पनि १०० गालीसम्म सहनु भएको थियो। त्यसपछि सिसुपालको के भएको थियो महाभारतको प्रसङगमा चाख राख्ने सबैलाई जानकारीनै होला । कलियुगमा त्यो पनि कांग्रेसमा जे गर्दा पनि हुन्छ जे बोल्दा पनि हुन्छ भन्ने हो भने अलग कुरा नत्र पार्टीभित्र मर्यादा, अनुसासन, पदीय गरिमा भन्ने कुरा हुन्छ की हुँदैन सभापतिज्यू ?

बुधवारको वैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झै थियो। महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहिन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो। अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौ।

सभापतिज्यू,
भोलि फेरि कोहि उठेर सभापतिज्यू विरुद्ध बुधवारको वैठकमा जस्तै बिषवमन गरे के हुन्छ ? यसैगरि पार्टी अर्डरमा रहन्छ ? मियो विनाको दाई जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ? 

सभापतिज्यू,
 तपाईकै सामुन्ने बुधवार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौं ? होइन भने " ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नु " भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दा समेत त्यस्ता अराजक प्रस्तुती दिनेलाई रोक्न सकिदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौं?

सभापतिज्यू,
वीपी कोइराला सहित अग्रजहरुले शुरु गरेको पार्टीको संस्कार यहि हो ?
सभापतिज्यूलाई सोध्न चाहन्छु यो अराजकता कहिलेसम्म ? मर्यादाहिन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौ। त्यसैले मेरो आग्रह छ यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस।

सभापतिज्यू
केहि समयअघी सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसदको रोष्ट्रममा उभिएर " आफूलाई फसाउन खोज्ने काँग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको " बताएका थिए । बुधवारको वैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो । लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाई फाइल छ फाइल छ भनेर किन घुर्कयाइ रहनुभएको छ। थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ। थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्वन्धित निकायमा नदिएको ? तपाई आफू डामिसक्नुभएको छ। महामन्त्रीलाई पनि कार्वाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस। हेर्नुस हामीलाई फोहोर नभएको पार्टी चाहिएको छ। भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन। थापाजी दोषी देखिए भोग्नुहोला। हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस। जहाँसम्म मेरो जानकारी छ तपाईसँग गभर्नर पद कांग्रेसले साँटेको पनि छैन । अहिले जे भइरहेको छ तपाईकै कर्मले हो। रुन्चे याचना गर्दै अरुलाई दोष नदिनुस। पार्टीमा तपाईले योगदान गरेको छ भन्ने नाममा पार्टीलाई वदनाम बनाउने छुट तपाईलाई छैन। हामीलाई पनि छैन। पार्टीभित्रको सुशासनको लागि बरु आरोपको टुंगो नलागेसम्म पार्टीको पदबाट अलग रहदा त्यो पार्टीकोलागि ठूलो गुन हुनेछ ।

पार्टी शुसासनका सन्दर्भमा

सुशासन, सेवा प्रवाहको कुरा हामीले धेरै सुन्दै आएका छौं । तर यो कुरा पार्टीमा पनि लागू हुनुपर्ने होलानी ? विधानत तोकिएको जिम्मेवारी पुरा गर्न नसक्दा सम्वन्धित तहका नेतृत्वलाई जवाफदेहि पनि बनाउनु पर्ने होलानी । सक्रिय सदस्यताको बिषयमा ३३ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन भने त्यसको जवाफदेखि को हुने ? पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला अझै सक्रिय सदस्यताको विषय टुंगिन सकेको छैन । सक्रिय सदस्यता नविकरणको टुंगो लगाउने बिषय अनुसासन समितिमा परेका उजुरीसँग पनि जोडिएको छ। अनि अनुसासन समितिमा परेका उजुरी टुंगिने कहिले हो ? अनि नयाँ सदस्यता वितरण कहिलेबाट ?

निजामती सेवामा २ बर्षे कुलिङ अफ पिरियडको चर्चा अहिले चर्चामा छ । पार्टी महाधिवेशन र स्थानीय तहको चुनावबीच कम्तिमा डेढदेखि २ बर्ष को कुलिङ पिरियड राखेमात्र स्थानीय तहको चुनावमा हामीले राम्रो नतिजा ल्याउन सक्छौ त्यसको सकारात्मक प्रभाव संसदीय चुनावमा पनि पर्छ भनेर २ बर्षअघीकै वैठकमा धारणा राखेको थिए। त्यसमा पार्टी नेतृत्वको ध्यान पुगेन। महासमिति वैठक अघी महामन्त्रीले कार्यतालिका पेश गरेर महाधिवशेन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो। तर कस्को दवावमा हो की के हो विडम्बना त्यो कार्यतालिका नै पछि गायव भयो । डेढ बर्ष अघी २०८२ मंसिरमा महाधिवेशन सुनिश्चित गर्न ल्याइएको त्यो कार्यतालिकाको समर्थन गर्न नसकेका हामीहरुले अब सोहि मितिमा महाधिवेशन गर्न कार्यतालिका ल्याउनु भन्नु सार्वजनिक खपत भन्दा अरु होइन भनेर कसरी विश्वासमा पर्नु ?

आदरणीय सभापतिज्यूले आफ्नो रिटायरमेन्टको समय आएको संकेत गर्नुभएको छ। तर जिम्मेवारी पाएर पनि पुरा गर्न नसकेका भातृ संस्थाको नेतृत्वलाई कहिले रिटायरमेन्टमा पठाउने ? नेविसंघ, तरुण दल, महिला संघ, दलित संघको वेथिति कहिलेसम्म टुलुटुलु हेरिरहने ?

सभापतिज्यूले रिटायरमेन्ट लिदै गर्दा पार्टीलाई एक ढिक्का बनाएर लाने सबैभन्दा ठूलो चुनौति छ। तपाईँको उमेर समूहदेखि जेन्जी हुँदै अल्फा पुस्तासम्मको भावना समेट्दै आम नागरिकको बीचमा फेरि पनि नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने चुनौती छ । यो चुनौती पार्टीभित्र मर्यादा, अनुशासन र एकता बीना सम्भव छैन।

यसैले पनि दृष्टिकोणमा आत्मपरीक्षण गर्दै काममा निरन्तरता र इमानदारीता कायम हुनुपर्छ। अतः यस बैठकले सरकार तथा पार्टीको समग्र गतिविधीको सिंहावलोकनका साथ मूल्यांकन गर्दै:

मतदातासँग पुनः भरोसायुक्त सम्बन्ध बनाउने, जेन्जी पुस्तालाई आत्मसात गर्दै उनीहरुसँग सहकार्य गर्ने र विश्वासको पुनर्निर्माण गर्ने दिशामा ठोस योजना ल्याओस् भन्ने मेरो आग्रह छ।
धन्यवाद। जय नेपाल ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad