राजनीति


पर्यटन विकासका लागि पदमार्ग र गन्तव्य पहिचान गरी प्रवर्द्धन गरौँ: एनपी साउद

पर्यटन विकासका लागि पदमार्ग र गन्तव्य पहिचान गरी प्रवर्द्धन गरौँ: एनपी साउद

नेपालखबर
असार १८, २०८२ बुधबार १३:४, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार  बसेको बैठकमा बोल्दै समिति सदस्यसमेत रहेका साउदले नेपालको ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचारप्रसार गर्न सरकारसँग आग्रह गरेका हुन्। 

उनले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

'भौगोलिकरुपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो। यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ,' उनले भने,'हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन्, तर अझै पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन।'

नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो। उनका अनुसार, हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक संख्या बढाउन सकेको छैन। 

'२० लाख पर्यटक पुर्याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौँ,' उनले भने, 'जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप‌ काम गर्न आवश्यक छ।'  

पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए। 

'यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवर्द्धन गर्न आवश्यक छ। पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ,' साउद भने।

सांसद साउदले भारत र चीन जस्ता विश्वका दुई ठूलो जनसंख्या र अर्थतन्त्र भएका देशहरू नेपालका छिमेकी रहेको सन्दर्भमा ती देशहरूबाट पर्यटक आकर्षित गर्नको लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए। 

'त्यो जनसंख्याको लाभ लिन हामी चुकेका छौं,' उनले भने, 'धार्मिक तथा सांस्कृतिक विविधता नेपालको पर्यटनमा अर्को महत्वपूर्ण पक्ष हो। हामीसँग बौद्ध र हिन्दु धर्मका सांस्कृतिक सम्पदा छन्। यसलाई सही ढंगले प्रस्तुत गर्न सके हामीले ठूलो संख्यामा पर्यटक ल्याउन सक्छौं।'

उनले सडक र हवाई यातायातका अवरोधले पर्यटकलाई असहज बनाउने भएकाले त्यसलाई सुधार गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए। 'कतिपय चुनौतीहरू हाम्रो पूर्वाधारले सिर्जना गरेका छन्। त्यसमा सुधार नगरी पर्यटकको अनुभव राम्रो बनाउँन सकिन्न,' उनले भने।

साउदले पदमार्गहरूको मौलिकता (भर्जिनिटी) जोगाउने विषयमा पनि ध्यान दिनुपर्ने बताएका छन्। 'हाम्रा पदमार्गहरू प्रकृतिसँग नजिक छन्। त्यसको मौलिकता नबिगार्ने गरी संरक्षित गरिनुपर्छ,' उनले भने।

झरनाहरूको बहाव तथा प्राकृतिक दृश्यहरू नेपालको प्रमुख पर्यटकीय सम्पदा भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायले संरचनात्मक हस्तक्षेप नगरी प्रकृति अनुसार काम गर्नुपर्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad