न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिवद्धता जनाएका छन्।
सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले संविधान र कानुनको निष्पक्षतापूर्वक पालना गर्ने बताए। नेपालले भने,‘कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरुको नियुक्ति, सरुवासम्बन्धी कारबाही गर्ने व्यहोरा समेत जानकारी गराउँछु। संविधान र कानुनको निष्पक्षतापूर्वक पालना गर्नेछु। संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिवद्ध रहनेछु। स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढिकरणमा सतप्रयत्नशील रहनेछु।’
उनले थपे, ‘आफूले सम्पादन गरेको कार्यको उत्तरदायित्व र जवाफदेहिता सदैव ग्रहण गर्नेछु। आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार गर्नेछैन। संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशिल रहनेछु। निष्पक्ष र पारदर्शी न्यायालय स्थापनाका लागि निरन्तर प्रयत्नशिल रहनेछु। न्यायिक अनुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि प्रयत्नशिल रहनेछु।’
प्रस्तावित सदस्य नेपालले न्यायपालिकाको गरिमा अभिवृद्धि गर्दै न्याय र कानून क्षेत्रमा कार्यगत व्यक्तिहरु तथा न्यायाधीश समेतको कर्तव्य र दायित्व रहे पनि न्याय सम्पादन र मुल जिम्मेवारी प्रधानन्यायाधीशमा रहने हुँदा व्यक्तिगत रुपमा प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिवद्धता जनाए।
Shares

प्रतिक्रिया