पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले चिकित्सा नैतिकता (मेडिकल इथिक्स) छोड्न नहुने बताएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आज आयोजित ‘एक्युट अङ्कोलोजी सर्भिस’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले पैसा–पैसा भन्ने डाक्टरले चिकित्सा नैतिकता पालना नगर्ने बताए।
आफूले नौ वर्ष अघि प्रोस्टेट क्यान्सरको उपचार गरेको स्मरण गर्दै उनले पेटस्क्यान गर्न जापान जानु परेको स्मरण गराए।
उनले भने, ‘जापानबाट फर्केपछि नेपालमै पेट स्क्यान ल्याउनुपर्छ भनेर तत्कालीन सरकारलाई रु ३६ करोड बजेट विनियोजन गर्न लगाएको थिएँ।’ उक्त रकम फ्रिज भएको तर मेसिन आउन नसकेको उनको भनाइ थियो। अहिले यस अस्पतालले पेट स्क्यान मेसिन ल्याउने प्रक्रिया पुनः सुरू गरेकोमा आफूलाई खुसी लागेको बताए।
डा यादवले दुई दशकमा देशमा ठूलो परिवर्तन आएको बताए। शिक्षा, स्वास्थ्य, दूरसञ्चार, पूर्वाधार क्षेत्रमा धेरै ठूलो परिवर्तन भएको भन्दै उनले अझै गुणस्तरीय रुपमा विकास अघि बढाउनुपर्ने आवश्यक रहेको औँल्याए। लोकतन्त्रपछि स्थानीय तहमा ३६ हजार जनप्रतिनिधिमध्ये १२ हजार दलित, जनजाती, मधेशी, महिला, सीमान्तकृत जननप्रतिनिधि रहेको चर्चा गर्दै उहाँले यो लोकतन्त्रको उपलब्धि भएको बताए।
एक्युट अङ्कोलोजी सर्भिसका परिकल्पनाकार एवं अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले नेपालमा पहिलो पटक क्यान्सरको आकस्मिक अवस्था (एक्युट अङ्कोलोजी सर्भिस) मा विशेषज्ञ उपचार सेवाका बारेमा प्रकाश पारेका थिए।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा सम्पन्न ‘फाउण्डेसन कोर्स टु अक्युट अङ्कोलोजी सर्भिस’ तालिम सम्पन्न भएसँगै एक्युट अङ्कोलोजी सर्भिस सुरू गरिएको उनले बताए।
एक्युट अङ्कोलोजी सर्भिसअन्तर्गत, रोगीले आकस्मिक लक्ष्ण देखाउने वित्तिकै तत्काल उपचार, समन्वययुक्त मूल्याङ्कन र बिरामीको अवस्थाअनुसार प्राथमिकता तोक्ने व्यवस्था गरिने उनको भनाइ छ। कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, उपनिर्देशक डा उमेश नेपाल, डा योगेश रेग्मीलगायतले बोलेका थिए। कार्यक्रमका अवसरमा तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थी चिकित्सक, नर्सलाई पूर्व राष्ट्रपति डा यादवले प्रमाणपत्र समेत वितरण गरेका थिए।
Shares

प्रतिक्रिया