राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की (भण्डारी) सरकारले पाँच बुँदे माग पूरा नगरेसम्म संसदमा आन्दोलन गर्न नछाड्ने बताएकी छन्। नेपालखबर ‘तत्कालै’मा सोमबार साँझ कुराकानी गर्दै उनले संसदमा अवरोध रास्वपाभन्दा पनि सरकारकै कारण भइरहेको आरोप लगाइन्।
‘संसद् अवरुद्ध रास्वपाले गरेको भन्न मिल्दैन,’ उनले भनिन्, ‘हामीले जनताको आवाज उठाएका हौँ। गत वर्ष अरुले संसद् अवरुद्ध गर्दा हामी नै हो– यस्तो गर्नुहुँदैन, जनताको आवाज अवरुद्ध गर्न मिल्दैन भन्ने। तर, अहिले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको विरुद्ध आवाज उठाउँदा पनि सरकारले सुन्दैन भने यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’
उनले संसदमा रास्वपासँग थोरै सांसद संख्या छ भन्ने ठानेर सरकार र सभामुखले पेलेर संसद् चलाउन खोज्नु उनीहरूको दम्भ भएको र यसको सम्पूर्ण जिम्मेवारी उनीहरूले नै लिनुपर्ने बताइन्।
‘हाम्रो संसदीय प्रणालीमा एकजना सांसद उठ्छ भने पनि संसद् चल्नुहुन्न भन्ने मान्यता छ,’ उनले भनिन्, ‘तर, यहाँ त यत्रा सांसदले उठेर आवाज उठाउँदा पनि सरकार बहिरो हुन्छ, सभामुखले सदन चलाउनुहुन्छ भने यसमा हाम्रो केही लाग्दैन। संसदमा हामीसँग थोरै संख्या छ भनेर राज्यले पेलेर लान सकिन्छ भनेर ठान्नु सरकारको दम्भ हो।’

भिजिट भिसा प्रकरणको यो आन्दोलनबाट माग पूरा नभएसम्म रास्वपा कुनै पनि हालतमा पछाडि नहट्ने उनले बताइन्। हामीले सोध्यौँ– कतै माओवादीजस्तै ब्याक हुने त होइन?
जवाफमा उनले रास्वपालाई त्यस्तो छुट नभएको बताइन्।
‘योे मुद्दामा हामी ब्याक हुनेवाला छैनौँ,’ उनले भनिन्, ‘पाँच बुँदे माग पूरा हुनैपर्छ। उच्चस्तरीय छानबिन समिति या न्यायिक आयोग या गृहमन्त्रीले सेट गरेको नैतिकतामा खरो उत्रिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नै हो। हाम्रो माग जारी छ। पूरा नभएसम्म आन्दोलन जारी हुन्छ। हामीलाई माओवादीजस्तै फिर्ता हुने छुट छैन। थाक्ने त कुरै छैन। थाक्ने भए हामी राजनीतिमा आउनैहुन्न।’
हामीले सोध्यौँ– रवि लामिछानेमाथि गम्भीर फौजदारी अभियोगहरू छन्। अदालतले थुनामा पठाएको छ। तर तपाईंहरू राजनीतिक प्रतिशोध भन्दै हुनुहुन्छ। रास्वपाले विधिको शासन मान्नु नपर्ने?
जवाफमा उनले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताइन्, ‘उहाँलाई सहकारीबाट ल्याएको पैसा चलाएको बाहेक अरु अपराध लगाएकै होइन। घुम्दा फिर्दा राजनीतिक प्रतिशोधले यस्तो रङ दिइयो कि सम्पत्ति शुद्धीकरण पनि लगाइयो। यो फौजदारी मुद्दा लागेको होइन, लगाइएको हो।’

हामीले प्रतिप्रश्न गर्यौँ– ‘त्यतिका सहकारी पीडितको कुराभन्दा एकजना रविको कुरामा सिंगो पार्टी पंक्ति उभिनुपर्ने किन?’
जवाफमा उनले भनिन्, ‘हाम्रो सभापति हुन् रवि लामिछाने। सभापति अन्याय भएर जेल गइरहँदा पनि हामी चुप लागेर बस्न मिल्दैन। घरको अभिभावकलाई लगेर थुनिदिँदा हामी छटपटाएका छौँ। हामीलाई फरक त पर्छ नि।’
हेर्नुहोस्, रास्वपाको निरन्तर संसद् अवरुद्ध, रास्वपाका आगामी रणनीतिबारे सांसद कार्कीसँग गरिएको नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओः विशाल कार्की/सरोज नेपाल

प्रतिक्रिया