राजनीति


प्रधानमन्त्रीको आदेशमा सभामुखले निजामती विधेयक रोक्नुभयो, हामी सत्तामा भएको भए ल्याउँथ्यौँ : कोइराला

‘प्रधानमन्त्रीजीको हठ किन? के को लागि? कसको लागि?’
प्रधानमन्त्रीको आदेशमा सभामुखले निजामती विधेयक रोक्नुभयो, हामी सत्तामा भएको भए ल्याउँथ्यौँ : कोइराला

नेपालखबर
असार ८, २०८२ आइतबार १७:५१, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भए पनि सत्तामा नभएको बताएका छन्। नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यी दुई कुरा बेग्लै भएको समेत उल्लेख गरे।

‘तपाईंले सामाजिक सञ्जालमा जति न्यूज पढिराख्नु भएको छ, त्यसले के बुझिन्छ भने सरकारमा चाहिँ हामी छौँ,’ कोइरालाले भने, ‘केन्द्रीय सरकारमा पनि छौँ। गण्डकी प्रदेशमा त हाम्रै नेतृत्वमा सरकारमा छ। तर सत्तामा छैनौँ।’

प्रजातन्त्रमा संरचनाहरुले काम गर्ने भन्दै त्यस्ता संरचनामा पनि आफूहरु नरहेको उनले जिकिर गरे। ‘प्रजातन्त्रमा संरचनाहरूले काम गरिरहेको हुन्छ,’ कोइरालाको भनाइ छ, ‘त्यो संरचनामा को–को छन्, हामी देख्दैनौँ प्रजातन्त्रवादीहरू। हामी त्यहाँ बामपन्थीहरु मात्रै देख्छौँ।’

आफूहरू सत्तामा नरहेकै कारण निजामती विधेयक ल्याउन नसकिरहेको उनको भनाइ छ।  ‘तपाईंहरुले अर्को विचार गर्नुहोस्, संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड भनेर पास गर्‍यो,’ कोइराला भन्छन्, ‘तर, प्रधानमन्त्रीको आदेशमा सभामुखजीले त्यसलाई (निजामती विधेयक) लाई एजेन्डामा ल्याइ रहनु भएको छैन। हामी सत्तामा भएको भए हामी ल्याउँथ्यौँ।’

प्रधानमन्त्रीले कसको लागि विधेयक रोकिरहेको भन्दै उनले प्रश्न समेत गरे। ‘नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एकमतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेका छन्,’ कोइरालाले भने, ‘प्रधानमन्त्रीजीको हठ किन? के को लागि? कसको लागि?’

‘अब त कसको लागि भनेर हामीले सोध्नुपर्ने आवश्यता भएको छ,’ उनले थपे।

सचिवले अवकाश पाउने बित्तिकै फेरि नियुक्ति पाउँदा स्वार्थ बाझिने भन्दै आफूहरुले निजामती विधेयकमा २ वर्षको कुलिङ पिरियड राखेको कोइरालाको भनाइ छ।  ‘सचिव बनाउने, सचिवबाट रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने,’ उनले भने, ‘कसैलाई निर्वाचन आयोगमा लग्ने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरुले कसको काम गर्लान भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको।’

अन्य देशमा पनि कुलिङ पिरियड रहेको कोइरालाको भनाइ छ। कोइरालाले भने, ‘के अन्य देशमा छैन त? अन्य देशमा पनि कुुलिङ पिरियड छ। कति देशमा रिटायर्ड सचिवले निजी क्षेत्रमा गएर काम पनि गर्न पाइँदैन। गनुपर्‍यो भने सरकारको अनुमति लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad