श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ–आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताएका छन्।
शुक्रबार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताएका हुन्।
उनले पूरै गाउँ खालि रहेको र देश खालि भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताए। विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको बताए।
मन्त्री भण्डारीले नेपालमा गाउँघर के कारणले खाली भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘श्रम बजार ठूलो छ, यो नेपालसँगमात्र सम्बन्धित विषय होइन। विश्वभरका मानिसहरू महिला पुरुष सबै आआफ्ना किसिमका अवसरका लागि संसारभर भौँतारिएको अवस्था छ। सबैलाई राम्रो लाउने खाने अथवा अवसर प्राप्तिसँगै छोराछोरीलाई राम्रो शिक्षा दिने चाहनाको आशमा मानिसहरु संसारभरि घुमि नै रहेका हुन्छन्। आप्रवासन भनेको आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्म हुन्छ।’
मन्त्री भण्डारीले थपे, ‘अहिले एक किसिमको भास्य निर्माण गरिएको छ– पुरै गाउँ खालि भएको छ, देशै खालि भएको छ, सबै बाहिर गइरहेका छन् कहिँ केही छैन भनिएको छ। वैदेशिक रोजगार विभागको डाटाबाट पनि विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको अवस्था छ। यो परिस्थिति जुन छ यसलाई निश्चितरुपमा आँकडाबाट पुष्ट्याई गर्नुपर्ने अवस्था छ। र, अर्को विषयवस्तु भनेको नेपालमा गाउँ खाली भएका छन्, कहिलेदेखि खाली भाको हो र के कारणले खाली भए, कसरी फर्काएर लिएर जाने यो विषयमा पनि इमान्दारितापूर्वक काम गर्नुपर्छ।’
उनले देखिएका विषयमात्र जोडेर नभई नदेखिएका कारणहरुमा समेत इमान्दारितापूर्वक काम गरेर गाउँ बस्तीमा मानिसहरु फर्काउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया