संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हुनेलाई हुने र नहुनेलाई नहुने भन्ने अभियान सञ्चालन गर्न जरुरी भएको बताएका छन्।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालको सहकार्यमा आयोजित विकासका लागि संस्कृति विषयक विचार गोष्ठीमा उनले योजना निर्माणका समयमा आउने वडाध्यक्षदेखि भ्रातृ संस्थाको सदस्यले ल्याएको योजनामा पनि हुन्छ भन्ने परिपाटीका कारण योजना बनाउने भन्दापनि माग्ने संस्कृति बढेको बताए।
अगाडि हुँदा हुन्छ भनिदिने संस्कृतिका कारण योजना माग्नेपनि धोकामा रहने र हुन्छ भनेर बचन दिने व्यक्तिले पनि अनावश्यक बोझ बोकेर पनि टुंगोमा पुर्याउन नसक्दा राम्रो गरिरहेपनि नराम्रो हुने प्रवृत्ति बढेको उनको भनाई थियो।
‘विदेशीहरु भन्छन् हामी हिमाल हेर्न आएका हौं खासमा,’ पाण्डेले भने, ‘हिमाल त नेपालमा हाँसेको छ नै तर नेपालीको हाँसो चाहिँ त्यो हिमालभन्दा पनि सुन्दर छ भनेर प्रशंसा गर्छन्। त्यसकारण हामीसँग सबै कुरा छ यी भएका कुरालाई पस्किनका लागि आवश्यक समन्वयको जरुरी छ।’
तर, नहुने कुरालाई हुँदैन भन्न नसकिएको मन्त्री पाण्डेको भनाइ छ। ‘यो व्यवस्थित पार्ने संस्कृति र तरिका के हो?,’ उनले भने, ‘मैले अहिले योजना निर्माणको समयमा हेरेँ, योजना निर्माणका बेला यसरी योजनाहरु आउँछन् जसलाई हामीले हुँदैन भन्नै सक्दैनौं। वडाअध्यक्षले ल्याएर दिएपनि हुन्छ भन्छौं, कुनै भ्रातृ संस्थाको सदस्यले ल्याएर दिएको पनि हुन्छ भन्छौं अनि योजना चाहिँ बनाउने होइन रहेछ हामीकहाँ योजना माग्ने रहेछ।’
उनले तीन तहको सरकारबीच समन्वय हुन नसक्दा नेपालमा भएका कुराहरु विश्वसामु परिचित गराउन नसकिएकोले तीनै तहको सरकारबीच समन्वय र सहकार्यमा जोड दिए।
Shares

प्रतिक्रिया