सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव लोकबहादुर खड्का (रवि) ले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन्।
आइतबार सामाजिक विकास मन्त्री मेघराज खडकाले सदस्य सचिव खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि उनी परिषदमा पुगेर पदभार ग्रहण गरेका हुन्।
शपथ ग्रहण गर्दै खड्काले सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको योगदानको कदर गर्दै इमानदारीपूर्वक पदीय जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सामाजिक विकासमन्त्री मेघराज खड्काले सदस्यहरु नियुक्त छिट्टै गर्ने बताए। उनले काम गर्न टिम आवश्यक पर्ने भएकाले त्यो विषयमा सरकार गम्भीर रहेको बताए।
सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले मन्त्रालयले खेलकुद क्षेत्रलाई महत्व दिएर काम गरिरहेको बताए। उनले व्यक्तिलाई स्वच्छ राख्न र खेलाडीलाई व्यस्त राख्न विभिन्न खेल गतिविधि भइरहेको बताए।

जेठ २९ गते सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।
खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन्। उनले आधा दर्जन बढी राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसक्नुभएको छ भने एउटा राष्ट्रिय हक्की खेल पनि खेलेका थिए।
कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिति क्षेत्र नम्वर ९ का कोषाध्यक्ष पनि थिए। तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ।
झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो। ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए। उनको कार्यकाल ९ चैतदेखि सकिएको थियो।
Shares

प्रतिक्रिया