राजनीति


योजना बैंकलाई सरकारले स्वार्थपूर्ति गर्ने हतियार बनायो : सांसद बस्नेत

योजना बैंकलाई सरकारले स्वार्थपूर्ति गर्ने हतियार बनायो : सांसद बस्नेत

नेपालखबर
असार २, २०८२ सोमबार १५:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो स्वार्थ पूरा गर्नका लागि योजना बैंकलाई सरकारले हतियार बनाएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले सत्ता पक्षले तथ्यलाई धुवाँको पर्दाले छोप्ने कोशिस गरेको दाबी गरे।

‘अहिले हामी विनियोजन विधेयकका बारेमा छलफल गरिरहेका छौं,’ बस्नतेले भने, ‘यो सन्दर्भमा मलाई के लाग्छ भने कम्तिमा पनि तथ्यलाई नांगो रुपले छोप्ने र धुँवाको पर्दा लगाएर छोप्ने कोशिस नगरौं। धेरै सकारात्मक सकारात्मक कुराहरुपनि गरिरहनुभएको छ। तीन करोडभन्दा तलका योजना छैनन् नै भनिरहनु भएको छ। यहाँ आधाभन्दा धेरै योजनाहरु तीन करोडभन्दा तलमात्र होइन २५ लाख, २० लाखसम्मका छन्। ती पुराना र क्रमागत योजनालाई सम्पन्न गर्नका लागि होइन, नयाँ योजनाहरु शुरु गर्नका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ, २० लाख रुपैयाँ विनियोजन गरिएको छ।’ 

उनले चार हजार योजना घटाएर भयंकर मितव्ययी काम गरियो भनेर गफ गर्ने तर वास्तविकता अर्कै रहेको जिकिर गरे। ‘सहरी विकास मन्त्रालयका मन्त्री र सचिवज्युहरु भन्दै हुनुहुन्थ्यो- बजेट त तपाईंहरु कहाँ १ खर्ब १८ अर्बको आएछ नि भनेपछि हामीलाई थाहा छैन अर्थ मन्त्रालयले थपिदिएको छ भन्ने सुनेका छौं तर कति थपिदिएको छ हामीलाई त्यो पनि थाहा छैन। हामीले छुट्याएको कार्यक्रम र बजेटको परिमाण त्यो थिएन उहाँहरु आफैं भन्दै हुनुहुन्छ। यसरी आएको सहरी विकास मन्त्रालयको बजेटमा आधा योजनाहरुमा कहीँ २५, कहीँ २०, कहीँ ४० लाख छ कहीँ ५० लाख छ अनि यो तथ्यलाई धुवाँको पर्दा लगाएर छोपिन्छ।’ 

उनले थपे, ‘प्रोजेक्ट बैंक चार हजार घटाइयो, कस्को घटाइयो, कहाँको घटाइयो, अनि कहाँको कायम राखिएको छ? यसको तुलनात्मक अध्ययन जरुरी हुन्छ कि हुँदैन? यो बारेमा छलफल गर्नुपर्छ कि पर्दैन? अनि चार हजार घटाइयो भनेर भयंकर मितव्ययी काम गरियो भनेर गफ नगरौं। अहिलेपनि योजना आयोगले योजना बैंकको कुरा गरिएको छ। योजना बैंकको कुरा आफ्नो स्वार्थ पूरा गर्नका लागि हतियार बनाइएको छ यो प्रमाणित ढंगले भन्नसक्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad