स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन्।
मन्त्रालयअन्तर्गतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गरे।
‘अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन,’ उनले भने, ‘यो गम्भीर प्रश्न हो।’
‘विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालहरूको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो,’ उनले भने, ‘पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ।’
मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पूर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए।
कर्मचारीहरूको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ,’ उनले भने, ‘नीतिगत सुधार आवश्यक भए हामी तयार छौँ।’
नागरिकको सरकारी अस्पतालमा विस्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताए।
अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरूसँग आग्रह गरे।
मन्त्री पौडेलले सरकारी कर्मचारीहरूसहित संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा आवद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिन समेत आग्रह गरे।
‘अहिले स्वास्थ्य बिमामा श्रोत अभाव छ,’ उनले भने, ‘सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराएमा ४० अर्बसम्म जम्मा हुन सक्छ। यसको कार्यान्वयनमा तपाईंहरूले साथ दिनुहोला।’
Shares

प्रतिक्रिया