नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजस्व प्रस्ताव चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले बजेट तुलनात्मक रुपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गरे।
अर्थतन्त्रमा सुधार र वर्तमान आर्थिक परिस्थितिअनुकुल बजेट ल्याउने प्रयत्न गरेको भन्दै सांसद आचार्यले निजी क्षेत्रको समस्या समाधान उन्मुख र लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको रुपमा प्रस्तुत हुन खोजेको बताए।
उनले विगतमा लगानी भैरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित भएको दाबी गरे। अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यबृद्धि र निर्यातजन्य कुराहरुमा प्रभाव पर्ने र आयआर्जनका कुराहरुमा नकारात्मक प्रभाव पर्नसक्ने उनको भनाइ थियो।
‘बजेटमा अर्थमन्त्रीले स्रोत कसरी जुटाउने भनेर भन्नुभएको छ, राजश्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ। र राजश्वबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने १ खर्ब ६५ अर्ब जोड्दा जम्मा राजश्व १४ खर्ब ८० अर्ब उठाउनुपर्ने प्रस्ताव छ,' उनले भने, 'त्यसमा वैदेशिक अनुदानमा ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणमा २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्ब भन्ने छ। यो खालको प्रस्ताव छ यो अत्यन्तै चुनौतीपूर्ण छ।'
Shares

प्रतिक्रिया