राजनीति


कञ्चनपुर-कैलालीका स्थानीय तहमा विप्लवको ताला, भेटियो यस्तो पर्चा

कञ्चनपुर-कैलालीका स्थानीय तहमा विप्लवको ताला, भेटियो यस्तो पर्चा

गोकुल जोशी
असार २२, २०७६ आइतबार ४:५१,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर र कैलालीका अधिकांश स्थानीय तहमा तालाबन्दी गरेको छ।

कञ्चनपुरका ९ वटा र कैलालीका धेरैजसो स्थानीय तहमा विप्लव समूहले तालाबन्दी गरेको हो। पार्टीको सेती महाकाली ब्युरो नामबाट तालाबन्दी गरिएका कार्यालयअगाडि संसदीय व्यवस्था अन्त्य र सरकार खारेजी माग गरिएका पर्चासमेत राखिएका छन्।

नेकपा (विप्लव)का कञ्चनपुर सेक्रेटरी राजेन्द्र विष्ट(परिवर्तन)का अनुसार नौवटै स्थानीय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै झूटो मुठभेडका नाममा हत्या गर्ने शृंखला बढाउँदै लगेकाले विरोधमा प्रथम चरणको घोषित

कार्यक्रमअन्तर्गत तालाबन्दी गरिएको पार्टीका जिल्ला सेक्रेटरी विष्ट(परिवर्तन) ले बताए। शान्तिपूर्ण तरिकाले जनताका माग उठाउँदा राज्य पक्ष दमनमा उत्रिएकाले त्यसको प्रतिरोध गर्न तालाबन्दी गरेका हौं,’ उनले भने, ‘सरकार गठन भएपछि दुई कार्यकर्ताको निर्मम हत्या गरिएको छ। पाँच सयभन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी यातना दिइएको छ।’

देशमा भ्रष्टाचार, महँगी, चर्को कर असुली व्याप्त रहेको उल्लेख गर्दै उनले सार्वजनिक विकासमा लगाउनुपर्ने रकम व्यक्तिगत मुनाफाका लागि दुरुपयोग गरिएकाले त्यसकाविरुद्ध आन्दोलन केन्द्रित रहेको बताए। दोश्रो चरणको कार्यक्रमअन्तर्गत स्थानीय तह खाली गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ।

कैलालीका स्थानीय तहमा पनि ताला
धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए। तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोको पर्चासमेत राखिएको छ।

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी निर्णय गरेकाले त्यसविरुद्ध पार्टीले सुरु गरेको अभियानअन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ। आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धविरुद्ध पनि चरणबद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ।

कर्मचारी र जनप्रतिनिधि थुने
कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहका कार्यकर्ताले शनिबार बेलुका थुनेका थिए। राति साढे ८ बजे कार्यालयमै काम गरिरहेका बेला दुई कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको हो।

स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनारसहित केही जनप्रतिनिधि रातिको समयमा लेखा फाँटमा काम गरिरहेका थिए।

नियमअनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म भए पनि लम्कीचुहा नगरपालिकामा भने विप्लव समूहका कार्यकर्ताले मध्यरातमा शंकास्पद काम गरिरहेको भन्दै कर्मचारीसहित जनप्रतिनिधिलाई थुनेको हो।

तर हिजो भने शनिबार भएकाले सबै सरकारी कार्यालय बन्द रहे पनि लम्कीचुहा नगरपालिकामा भने मध्यरातमा समेत काम भइरहेको भेटिएको हो। लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा पनि तालाबन्दी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad