भद्रपुर (झापा) खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल खानेपानी संस्थानमा यहाँको भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उनले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिए।
पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण योजना दुई वर्ष सञ्चालनमा आएर विगत ३० वर्षदेखि बन्द रहेको बताए। उनले खानेपानी संस्थानमा स्वामित्व हस्तान्तरण गरेसँगै यहाँका जनताले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गरे।
संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका–१, २ र ३ का तीन हजार ५०० घरपरिवार लाभान्वित हुने जानकारी दिए। उनले मन्त्रालयको उद्देश्य एक घर एक धारामा शुद्ध खानेपानी पुर्याउने रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे। रासस
Shares

प्रतिक्रिया