राजनीति


आलोचकलाई प्रधानमन्त्रीको चेतावनीः इतिहासले निर्मम मूल्यांकन गर्नेछ

आलोचकलाई प्रधानमन्त्रीको चेतावनीः इतिहासले निर्मम मूल्यांकन गर्नेछ

नेपालखबर
चैत २५, २०७६ मंगलबार ६:४,

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजातिमाथि आइलागेको संकटको घडीमा एकजुट भई लड्नुपर्ने अवस्थामा सरकारलाई असफल देखाउन प्रचारबाजी चलाइएको आरोप लगाएका छन्।

मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तालाई इतिहासले निर्मम मूल्यांकन गर्ने चेतावनी दिए।

पछिल्लो समय स्वास्थ्य सामग्री खरिदमा अनियमितता, संकटको बेला प्रधानमन्त्रीको मौनताजस्ता विषयमा सरकारको तीव्र आलोचना भइरहेको छ।

‘सरकारका काम विधिसम्मत हुनुपर्छ। सुशासनको मानकमा खरो उत्रिनै पर्छ,’ ओलीले भने, ‘तर कामै गर्न नसक्ने, प्रक्रिया नै सुरु हुन नदिने गरी निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा निरुत्साहित मात्रै गर्छ भन्ने मेरो आग्रह छ।’

मिडिया र सामाजिक सञ्जालमा उठ्ने गरेको आलोचनाप्रति आफ्नो पर्याप्त ध्यान गएको भन्दै उनले सरकारलाई असफल देखाउन र आफ्ना स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा भएको बताए।

भ्रष्टाचार नगर्ने र हुन नदिने सरकारको वाचालाई निरन्तर प्रचारबाजीले कमजोर पार्न नदिने उनको भनाइ थियो।

‘संकटको यस घडीमा हामी कहाँ उभिएका थियौँ। हाम्रो ध्यान केमा थियो, हामीले के भूमिका खेलेका थियौँ भन्ने मूल्यांकन इतिहासले गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘व्यक्तिको स्मृति छोटो तर इतिहास भने यस मामिलामा निर्मम हुन्छ। मानव अरु छलफल त स्थिति सामान्य भएपछि पनि गर्न सकिन्छ।’

उनले ०७२ सालको भूकम्पमा जस्तै धैर्य अपनाएर यो संकटको सामना गर्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad