आइतबार मध्यान्न सार्वजनिक एउटा दृश्यले धेरैको ध्यान आकृष्ट गर्यो। दृश्यमा देख्न सकिन्छ– दोस्रो जनआन्दोलनताका शाही गृहमन्त्री रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई राजावादीहरूको प्रदर्शनका क्रममा प्रहरीले लछारपछार पार्दै, घिसार्दै, उचाल्दै भ्यानमा हालिरहेको छ।
राजावादीको भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनीसहित ७ जना राजावादीलाई नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिएको हो।
करिब ३ वर्षको अन्तरालपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको एक महिना नबित्दै राजावादी आन्दोलनमा होमिएका थापा काठमाडौँबाट यसरी पक्राउ परेका हुन्। यद्यपि राति थापालाई प्रहरीले रिहा गरिसकेको छ।
यसको तीन साताअघि पूर्वराजासँगको भेटघाट र जेठ १५ पछिको राजावादीहरूको संयुक्त आन्दोलनबारे जानकारी दिन नेपालखबर स्टुडियोमै आइपुगेका थिए कमल थापा। तीनकुने घटनामा राप्रपाका वरिष्ठ नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायत पक्राउ परेपछि थापाले नेपालखबरसँग भनेका थिए, ‘राज्य हामीलाई तर्साउन खोजिरहेको छ। राजगद्दी फर्काउने आन्दोलन गर्यौ भने तिमीहरूलाई पनि थुन्छौँ भनेर प्रष्ट सन्देश दिइरहेको छ।’
अर्को रोचक संयोग के छ भने गत आम निर्वाचनमा केपी शर्मा ओलीको आशीर्वादकै कारण एमालेबाट मकवानपुर १ को चुनावी टिकट पाएका थापा अहिले ओली नै प्रधानमन्त्री भएका बेला व्यवस्था ढाल्न आन्दोलन गरिरहेका छन्। थापालाई प्रहरीले घिसारिरहेको तस्बिर देखेर धेरैले दोस्रो जनआन्दोलन दबाउन उनले खेलेको भूमिका सम्झेका छन्।
१९ दिने आन्दोलनमा थापाको आदेशमा चल्ने प्रहरीको दमनबाट २३ जनाको ज्यान गएको थियो। आन्दोलनपछि कृष्णजंग रायमाझीको नेतृत्वमा गठित आयोगले थापालाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।
आफ्ना कार्यकतालाई दुःखी बनाएर त्यतिबेला आफूले टिकट थमाएका थापा यतिखेर गणतन्त्रविरोधी आन्दोलनमा लागेपछि ओली सरकारले पनि उनलाई सडकमा लछारपछार पारेको छ।
जेठ १५ गते गणतन्त्र दिवसको दिनयता राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले राजालाई राजगद्दीमा फर्काउने मागसहित दिनहुँ काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।
कमल थापा पक्राउ परेलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका थिए।
उनले आक्रोशित हुँदै भने, ‘हामीलाई कहिले यता जा भन्ने, त्यता जा भन्ने? नेतालाई गिरफ्तार गर्ने? भोलिदेखि हामी देखाउँछौँ।’
लिङ्देन–थापा अहिले आन्दोलनमा सँगै देखिए पनि पार्टी फुटेयता उनीहरू मिलेको तीनकुनेको राजावादी आन्दोलनपछि मात्रै हो। ०७८ मंसिर १९ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले तत्कालीन राजा ज्ञानेन्द्र शाहप्रति तितो पोख्दै पार्टी नै परित्यागको घोषणा गरे। पार्टीको आन्तरिक मामिलामा राजाको सचिवालयको प्रत्यक्ष हस्तक्षेप भएपछि आफूले चुनाव हारेको र आफ्नो मान्यतामा ठूलो कुठाराघात गरेको आरोप उनले ज्ञानेन्द्रप्रति लगाएका थिए।
कमल थापाले त्यसपछि हेटौँडा पुगेर ‘अत्यन्त भारी मन र पीडाबोधका साथ’ राप्रपाबाट अलग हुने निर्णय गरेको जानकारी गराएका थिए। राप्रपा छाडेको केही महिनापछि फागुन १ गते थापाले राप्रपा नेपाल ब्युँताए। त्यसपछि राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छाडेर हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा तय गरे।
तर, राजतन्त्र पुनस्थापना गर्ने एजेन्डाबेगर उनी लामो समय टिक्न सकेनन्। १५ महिनापछि फेरि उनी आत्मालोचनासहित राजसंस्थाको एजेन्डामै फर्किए। त्यतिबेला उनले खुलेरै आत्मालोचना गरेका थिए, ‘मैले राजा या राजसंस्थाको विरुद्धमा जुन किसिमबाट तिखो प्रहार गरेँ, त्यो उपयुक्त थिएन भन्ने मलाई अहिले आत्मबोध भएको छ।’
यद्यपि ०७८ मंसिरमा महाधिवेशनमा पराजय भएयता उनी र पूर्वराजाबीच भेट भएको थिएन। त्यसको करिब तीन वर्षपछि मात्रै ज्ञानेन्द्र शाहले उनलाई नगरकोटमा भेट्न बोलाएका थिए।
पूर्वराजासँग मन माझामाझ भयो त भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यो च्याप्टर क्लोज भइसक्यो। खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनपछि जुन तिक्तताको अवस्था थियो, त्यो अन्त्य भएर म सशक्त रूपमा राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा बोकेर हिँड्न थालेको नै दुई–अढाई वर्ष भइसक्यो। त्यसैले मन माझामाझको अवस्था पनि त्यस्तो केही थिएन।’
त्यसपछि जेठ १३ गते काठमाडौँमा राजावादी नेताहरूले गरेको सम्पादकहरूसँगको छलफलमा थापाले राजा बनाउने विषयमा हृदयेन्द्र शाहको नाममा सहमति भए ज्ञानेन्द्रले पनि मान्नुपर्ने बताएका थिए।
ज्ञानेन्द्र कसरी सुध्रिएको मान्ने? पारस कसरी राजा हुन सक्छन्? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘हृदयेन्द्रका नाममा सहमति भए ज्ञानेन्द्र पनि त्यसमा आउनुपर्छ। राजतन्त्र भनेको व्यक्तिको कुरा होइन। यो विचार हो। पृथ्वीनारायण शाहका उत्तराधिकारी नै हुने हो भन्ने हाम्रो मत छ। अहिले व्यक्ति को हुने भन्ने कुरा मुख्य होइन।’
तीनकुने घटनाकै दिन चैत १५ गते राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेर हिरासतमै राखिएको थियो भने राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको थियो। क्यान्सरको नियमित उपचारका लागि भारत जानुपर्ने भएपछि सांसद राणालाई प्रहरीले वैशाख ८ गते नै छाडेको थियो। तर, मिश्र भने गत जेठ २ गते ५० दिनपछि मात्रै हिरासतमुक्त भए, सर्वोच्चको आदेशमा।
तीनकुने घटनापछि मिश्र, राणा, दुर्गा प्रसाईंलगायत सय जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो। केही छुटिसकेका छन् भने चार नाबालकसहित ६५ जनालाई विभिन्न मुद्दा लगाइएको छ। मिश्र र राणाविरुद्ध जेठ ११ गते राजद्रोहविरुद्धको मुद्दा अदालतमा दर्ता भएको छ।
पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर सत्ता उपभोग गरेका थापाले उपप्रधानमन्त्री र अनेकपटक मन्त्री हुँदा प्रहरीको सलामी थापे। यसपटक उनले प्रहरीको बलप्रयोगको सामना गर्नुपरेको छ र केही घण्टा मात्रै भए पनि हिरासतको हावा खानुपरेको छ। देशले झण्डै दुई दशकअघि बिदा गरिसकेको राजालाई गद्दीमा फर्काउने भन्दै सडकमा ओर्लेका थापा र उनको सहकर्मीहरूका लागि आन्दोलनका अबका दिनहरू सहज पक्कै हुने छैनन्।

प्रतिक्रिया