नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल नभनि प्रचण्ड मात्रै भन्नुपर्ने विषय उठेको छ। पार्टीको आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक सुरेश आले मगरले पार्टी अध्यक्षको नाम 'प्रचण्ड'मात्रै भन्न प्रस्ताव गरेका हुन्।
आज आइतबार वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मगरले पुष्पकमल दाहाल नाम सामन्तीले दिएकोले प्रचण्ड मात्रै भन्नुपर्ने उनको माग छ।
'मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ। श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ। किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती सामन्ती शब्द हुन्,' उनले भने, 'हामीलाई सम्मान गर्न मन लाग्छ, अति सम्माननीय भन्न सक्छौँ। आदरणीय भन्न सक्छौँ।'
पुष्पकमल दाहाल प्रतिगामीले दिएको र उनीहरूले नै भन्ने नाम भएको भन्दै आले मगरले प्रचण्ड नै प्यारो रहेको बताए।
'हामी उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो लाग्छ। प्रचण्ड नाम नै गर्विलो लाग्छ,' उनले भने, 'पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो, रुचाउने नाम हो। प्रचण्ड होइन। हामीले रुचाउने नाम हो-प्रचण्ड।'
उनले पार्टीका कुनै पनि कार्यक्रममा अब पुष्पकमल दाहाल भन्न रोक लगाउनुपर्ने पनि बताए।
Shares

प्रतिक्रिया