राजनीति


एमालेको कार्यक्रम सकिएपछि रत्नपार्कमै राजावादीको प्रदर्शन हुने

एमालेको कार्यक्रम सकिएपछि रत्नपार्कमै राजावादीको प्रदर्शन हुने

नेपालखबर
जेठ १४, २०८२ बुधबार २०:५१, काठमाडौँ

भोलि (जेठ १५ गते) राजावादी र सत्तारुढ नेकपा(एमाले) को प्रदर्शन एकै स्थानमा हुने भएको छ। 

एकै दिन, एकै स्थानमा तय भएका दुई समूहका लागि छुट्टा छुट्टै समय निर्धारण भएको छ।

जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीको कार्यक्रमका सोही स्थानमा गर्ने गरी सबै पक्षबीच सहमती भएको हो। 

दुवै पक्षले रत्नपार्कमै कार्यक्रम गर्ने अडान लिएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेर गणतन्त्र उत्सवको कार्यक्रम सकिएपछि राजावादीहरूको कार्यक्रम सुरु गर्न समन्वय गरेका थिए। जसमा लिङ्देन सहमत भएका हुन्। 

दुवै पक्षसँग समन्वय गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले सोही अनुसारको सुरक्षा योजना बनाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

काठमाडौँका सीडीओसँगको संवादमा लिङ्देनले दिउँसो मात्रै कार्यक्रम सुरु गर्ने गरी सूचना गर्ने र त्यही अनुसारको तयारी गर्ने बताएका छन्। यस्तै २ बजेसम्ममा कार्यक्रम सक्न एमालेलाई पनि भनिएको छ।

एमालेले गणतन्त्रका पक्षमा उत्सव बनाउँदा राजावादीहरुले भने सोही ठाउँमा अहिलेको व्यवस्था विरोधी कार्यक्रम गर्ने भएका छन्। एमालेले रत्नपार्क आसपास सांस्कृतिक कार्यक्रम गर्ने भन्दै त्यसका लागि सुरक्षा व्यवस्था गर्न प्रशासनमा निवेदन दिएको थियो। 

राजावादी दलहरु र समूहले पनि अहिलेको व्यवस्था विरोधी आन्दोलन रत्नपार्कबाटै गर्ने भनेपछि सुरक्षा चुनौती थपिएको हो। कानुन सम्वत हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था गर्ने र कानुनविपरित जानेलाई कारबाही गर्ने गरी तयारी गरेको एसएसपी अधिकारीले नेपालखबरलाई बताए। 

राजावादीहरुले सात ठाउँबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। हरेक प्रदेशका छुट्टा छुट्टै र्‍याली निकाल्ने र हरेक र्‍यालीलाई शीर्ष नेताले नेतृत्व गर्ने भएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad