काठमाडौँको तीनकुनेमा २ जनाको ज्यान जानेगरी भएको घटनाको २ महिना पुगेकै दिन फेरि दुई शक्ति प्रदर्शनमा उत्रिने भएका छन्। तीनकुनेमा चैत १५ गतेको प्रदर्शनमा नेतृत्वकर्ता नै हिरासत पुगेपछि छिन्नभिन्न भएका राजावादी पार्टी र समूहहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले नगरकोटमा लगेर एकजुट बनाएका थिए।
ज्ञानेन्द्रलाई भेटेलगत्तै एकजुट भएर कार्यक्रम घोषणा गरेका दल र समूहले जेठ १५ गते काठमाडौँको रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएका छन्।
तर त्यसैदिन सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पनि गणतन्त्र दिवसमा उत्सव मनाउने भएपछि दुई शक्ति आमनेसामने हुने जोखिम देखिएको छ। गणतन्त्रको विरोधमा राजावादीहरू र पक्षमा एमालेले कार्यक्रम राखेपछि प्रशासनलाई भने सुरक्षा व्यवस्थापनको चुनौती थपिएको छ।
यसअघि चैत १५ गते पनि समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा दरबारमार्गमा कार्यक्रम गर्दा राजावादीलाई भने तीनकुनेमा तोकिएको थियो। राजावादी दल र अन्य समूह तीनकुनेमा दुर्गा प्रसाईंलाई कमान्डर बनाएर विरोध प्रदर्शनमा उत्रिएका थिए। जुन कार्यक्रम हिंसात्मक बन्दा कमान्डर प्रसाईंसहित ६५ जनाले मुद्दा खेप्नु परेको छ। केही अझै फरार छन्।
कार्यक्रममा संलग्न भएका ५० जनाभन्दा बढीलाई पक्राउ गरेर लामो समय हिरासतमा राखेर रिहा गरिएको छ।
मुद्दा चलाइएकाहरू भने अहिले पनि थुनामै छन्। सोमबारदेखि जिल्ला न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र सुरु भएको छ। कार्यक्रमका क्रममा आगजनी र तोडफोडमा उत्रिएका ५० जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ। तीमध्ये प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको मुद्दा समेत लगाइएको छ। भाटभटेनीमा सामान लुट्न गएका ११ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाउँदै ७७ लाख हरूैयाँभन्दा बढी तिराउन माग गरिएको छ।
उनीहरूलाई थप कैद र जरिवानाको माग समेत गरिएको छ। बकपत्र चलिरहेकाले आन्दोलनअघि अहिले थुनामा रहेकाहरू छुट्ने सम्भावना छैन। उनीहरू नछुट्दै राजावादीहरू त्यस्तै अर्को कार्यक्रममा जुटेका हुन्।
तीनकुनेको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिन हिरासतमा बसे। त्यसको केहीपहिले नै महामन्त्री धवलशमशेर राणा भने छुटेका थिए। उपचारका लागि छुटेका राणा र सर्वोच्चको आदेशमा छुटेका मिश्रलाई पनि राज्यविरुद्धको कसुरमा प्रतिवादी बनाइएको छ।
तीनकुनेको घटनामा प्रत्यक्ष संलग्न भएर भीड उक्साएको आरोप खेपिरहेका मिश्र र राणाले भने त्यो कार्यक्रमको जिम्मा लिन अस्वीकार गरेका छन्। पहिले पार्टीको निर्णयविपरीत कार्यक्रममा पुगेका यी दुई नेताले पनि उक्त दिनको सम्पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंको भएको भन्दै दोषजति उनलाई थोपरेका छन्।
एउटै क्षेत्रमा दुवैको जिद्दी
गणतन्त्रको उत्सवमा एमालेले र विरोधमा राप्रपाले प्रदर्शन गर्ने भए पनि कार्यक्रम स्थल भने एउटै क्षेत्र खोजेका छन्। एमालेले कार्यक्रम गर्नका लागि दरबारमार्ग वा भृकुटी मण्डप माग गर्दै जिल्ला प्रशासन कार्यलय काठमाडौँमा निवेदन दिइसकेको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार एमालेले कार्यक्रमका लागि सुरक्षा माग गर्दै दिएको निवेदनमा कार्यक्रमस्थलका लागि सबै विकल्प रत्नपार्क आसपासकै मात्र दिएको छ।
एमालेको निवेदनमा प्रशासनले निर्णय गरिनसकेको भण्डारीले नेपालखबरलाई बताए। तर राजावादीहरूले भने कार्यक्रम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छैनन्।
‘उहाँहरूले पनि कार्यक्रम गर्ने भन्ने सुनेको हो। तर अहिलेसम्म हामीकहाँ निवेदन परेको छैन,’ मंगलबार साँझ नेपालखबरसँग भण्डारीले भने, ‘अब हामीले सबै कुरा भोलिसम्ममा टुंग्याउनै पर्छ। भोलि सुरक्षा समितिको बैठक पनि बस्छ त्यसैमा कसले कहाँ कार्यक्रम गर्ने भन्ने छलफल हुन्छ।’
तर तीनकुने क्षेत्रमा भने यसपटक प्रशासनले राजावादीहरूलाई कार्यक्रम गर्न नदिने भएको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेको कार्यक्रम रत्नपार्कमै गर्ने दाबी गरेका छन्। मंगलबार सम्पादकहरूसँगको छलफलमा उनले प्रशासनले अनुमति नदिए पनि कार्यक्रम रत्नपार्कमै हुने दाबी गरे।
त्यसैदिन एमालेले पनि कार्यक्रम राखेर आफूहरूसँग भिड्न खोजेको लिङ्देनको आरोप छ। मंगलबारको उक्त कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि सहभागी थिए।
यसअघि तीनकुने घटना लगत्तै लिङ्देन नेतृत्वको राप्रपाले बल्खुमा कार्यक्रम गरेको थियो। तर उक्त कार्यक्रममा सहभागीता न्यून थियो। जसको प्रभाव समेत नदेखिएकाले कार्यक्रम स्थल नै उचित ठाउँमा नभएको राप्रपाको बुझाइ छ।
तर यसपटक आमसभा नगर्ने बताएका लिङ्देनले शान्तिपूर्ण प्रदर्शनका लागि प्रशासनमा निवेदन दिन आवश्यक नरहेको दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको अभिव्यक्तिले समेत जेठ १५ शान्तिपूर्ण नहुने चिन्ता बढाएको छ। प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई त्यसदिन काठमाडौँ एमालेको नियन्त्रणमा हुनु पर्ने निर्देशन दिएका थिए।
अघिल्लो साता मात्रै प्रहरीका केन्द्रीय प्रवक्ता रमेश थापा, उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालसहितले पत्रकार सम्मेलन गरेका थिए। उनीहरूले जेठ १५ को कार्यक्रमका लागि पर्याप्त तयारी रहेको र सुरक्षा व्यवस्था चुस्त हुने दाबी गरे।
यसअघि चैत १५ मा सुरक्षा निकायले दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई सामान्य आक्दा ठूलो क्षति भएको थियो। सुरक्षा निकायको विश्लेषण सही हुन नसक्दा स्थिति नियन्त्रणबाहिर पुगेको थियो। प्रशासनले कर्फ्यु आदेश जारी गरेर नेपाली सेनालाई फिल्डमा उतारेको थियो। त्यसपछि मात्रै काठमाडौँको अवस्था समान्य बनेको थियो।
त्यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी भने राजावादीको तोडफोड र आगजनी रोक्न असफल भएका थिए।
तर प्रहरी प्रवक्ता रमेश थापाले यसपटक त्यस्तो अवस्था आउन नदिने दाबी गरे। त्यसका लागि जिल्ला सुरक्षा समिति र मातहतका प्रहरी कार्यालयले योजना बनाएर कार्यन्वयन गर्ने उनको भनाइ छ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले पनि बुधबार सबै सुरक्षा निकायसहितको बैठक बसेर सुरक्षा योजना कार्यान्वयन गर्ने बताएका छन्।
जिल्ला सुरक्षा समितिमा नेपाली सेनासहित जिल्लास्तरीय सबै सुरक्षा निकायका प्रमुखहरू आबद्ध हुन्छन्। उनीहरूले माथिल्लो निकायबाट थप मद्दत लिनेछन्।
Shares

प्रतिक्रिया