आँखाअगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अँगालोमा बेरेझैँ अनुभूति भएको बताए।
‘वाऊ! इट्स अमेजिङ एभरेस्ट, आई नेभर फर्गेट’ (आहा! यो अद्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन)।
जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भने, ‘नेपाल साँच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो।’
माउन्टेन फ्लाइट जीवनकै अविस्मरणीय भएको उनले बताए।
अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुसीको सीमै नरहेको बताए।
‘आश्चर्यजनक छ, खुसीको सीमै रहेन’, उनले भने।
सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले नेपालतर्फबाट सगरमाथाको भूबनोट नयाँ र अनुपम लागेको बता।
नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन।
सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताए।
उनले भने, ‘असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो।’
नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न अफू पटकपटक नेपाल आउने गरेको उनले बताए।
काठमाडौँमा मङ्गलबार आयोजना भएको ‘अन्तर्राष्टिय एभरस्ट समिटर्स समिट-२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ।
आज बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो।
नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टेन फ्लाइट गराइएको हो। भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन्।
काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुनः काठमाडौँ विमानस्थलमै अवतरण भएको थियो। लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो।
निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन्।
राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ।
विमानस्थलबाट सुरु हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ। अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ। रासस
Shares

प्रतिक्रिया