नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन्।
उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई राजासँग मिल्न लागेको भन्ने आरोप लगाएको सुनेको दाबी गर्दै गम्भीर शब्दमा टिप्पणी गरेका हुन्।
शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘यिनै प्रधानमन्त्री आज (शुक्रबार) पोखरा आएका थिए कि के थिए, तिनैले प्रतिनिधि सभामा भनेका थिए, भव्य र सभ्य सभा, हामीले आयोजना गरेको प्रतिगामीविरोधी सभालाई- भनेर पनि बोलेका थिए। आज आएर सुन्दै छु- राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर पनि कहीँ न कहीँ बोले रे भन्ने सुन्छु, अहिले धेरै फुर्सद त छैन, यदि त्यसै भनेको हो भने म प्रधानमन्त्रीजीलाई एकचोटि मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु।’
त्यसअघि शुक्रबारै दिउँसो प्रधानमन्त्री ओलीले एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए।
प्रचण्ड पनि नेकपा माओावादी केन्द्रको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’अन्तर्गत शुक्रबार साँझ हेमजा हुँदै पोखरा पुगेका थिए।
Shares

प्रतिक्रिया