प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिएका छन्।
कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गरे। उनले अहिलेका आन्दोलनहरू केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गरे। उनले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा भएका बताउँदै पूर्वराजा शाहले गरेका कामहरू पनि देखेको बताए।
कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने उनले चेतावनी दिए।
उनले भने, ‘कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन। यी ट्वारट्वारहरू अलिक समयका ट्वारट्वार टुरटुर हुन्। पछि आफैँ समाप्त हुन्छन्। हामीले पहिला पनि देखेका हौँ। अढाइ सय वर्षदेखि देखेका हौँ। अढाइ सय वर्षमा केके भए। म त्यतापट्टि जान चाहन्न। हामीले देखेका हौँ राजतन्त्र।’
उनले थपे, ‘दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौँ। तीन वर्ष शासन हातमा पार्दा कानमा घुसेको कन्सुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै। कानमा कन्सुत्लो परेर चिथर्यो भने कस्तो हुन्छ कान? तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नपर्यो। खालि हातका जनता १९ दिन सडकमा उत्रिनुपर्यो। १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको हो। फेरि पनि कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउनेछ। त्यस्ता चेष्टा नगर्न चेतावनी दिन चाहन्छु।’
प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताए।
Shares

प्रतिक्रिया