राजनीति


५० लाख जनसंख्या भएको मध्यपहाड: अभियानमा त हिँडे प्रचण्ड तर सहज छैन साख फर्काउन

५० लाख जनसंख्या भएको मध्यपहाड: अभियानमा त हिँडे प्रचण्ड तर सहज छैन साख फर्काउन

वाशुदेव मिश्र
जेठ ८, २०८२ बिहिबार १८:४७, पोखरा

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व ताक्न मिल्ने ‘मध्यपहाडी लोकमार्ग यात्रा’मा छन्। जेठ २ गते शुक्रबार बैतडीबाट सुरु यात्राको क्रममा उनी बिहीबार जनयुद्धको हेडक्वार्टर मानिने रोल्पा–रुकुम हुँदै गण्डकी प्रदेश अर्थात् बागलुङ छिरेका छन्। 

शनिबार पोखरामा आयोजना हुने समापन समारोहमा पक्कै पनि उनले यात्राको अनुभूति पस्कने छन्। ०८१ पुसमा सम्पन्न केन्द्रीय समिति बैठकबाट पारित ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प : आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको ३० पन्ने प्रतिवेदनमै यात्राको उद्देश्य प्रस्ट छ। 

‘०८४ मा एक्लै चुनाव लड्ने र पहिलो शक्ति बन्ने!’ 

त्यही उद्देश्य पूर्तिका लागि माओवादीले यसअघि नै हुलाकी राजमार्गको यात्रा गरिसकेको छ। यात्राको क्रममा उनले पटक–पटक तत्काल सत्तामा नजाने उद्घोष गरिरहेका छन्। कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग गाँसेको साइनो नटिकेपछि ‘सुप्रिमो’ साँच्चै यतिबेला फुर्सदमा छन्। माओवादीका कास्की नेता राजकाजी गुरुङ ‘करण’ कै भनाइ मान्ने हो भने माओवादीको यो यात्रा जनतासँग जोडिने, सुस्त बनेको संगठनलाई पुनर्जीवित गर्ने तथा थप शक्ति आर्जन गर्ने उद्देश्यले प्रेरित छ। 

‘माओवादी अहिले पनि जनतासँगै छ, हिजो विभिन्न कारणले जनजीविकाको सवालमा उठाइएका मुद्दाहरूमा सम्झौता गरिएको सत्य हो तर सत्ता कहिल्यै पनि हाम्रो लक्ष्य हैन,’ उनले दृढनिश्चयी स्वरमा भने, ‘गणतन्त्रमा जनता किन विरक्तिए भन्ने कुराको भेउ हामीले यात्राबाटै पाएका छौँ।’

यात्रा फुर्सदको उपयोग हो कि साँच्चिकै संगठन सुदृढीकरण अभियान, स्पष्ट छैन। तथापि, डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गर्दै उनले मुखले जे भने पनि मनमा सत्ताप्रतिको मोह बाँकी छ भन्ने सन्देश चाहिँ दिएकै छन्।

विरक्तिएका बाबुराम हिँडेको बाटोमा प्रचण्ड 
लामो राजनीतिक यात्राका क्रममा प्रचण्डले सहयात्री डा.बाबुराम भट्टराईलाई मिलिसियाको हिरासतमा मात्र राखेनन्, उनकै विचार बोकेर शान्ति प्रक्रियाको बाटो पनि समाए। मूलधारका राजनीतिक दलसँगको सहकार्यले राजतन्त्र गयो, लोकतन्त्र आयो। गणतन्त्रको नारा उरालेको माओवादी केन्द्रलाई जनताले ०६४ को संविधान सभा चुनावमा सोचेभन्दा बढी मत दिए। 

पहिलो संविधान सभाको प्रत्यक्षतर्फको २४० निर्वाचन क्षेत्रमध्ये १२० सिट जित्दा समानुपातिकतर्फको ३३५ मध्ये  १ सय सिट माओवादी केन्द्रको हातमा पर्‍यो। समानुपातिकतर्फ उसले २९.३८ मत प्राप्त गर्‍यो। निर्वाचन परिणामले माओवादी केन्द्रलाई पहिलो दल मात्र बनाएन, ‘सुप्रिमो’ प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमै विराजमान गरायो। 

प्रचण्ड नेतृत्वको त्यही सरकारको २०६५ फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले मध्यपहाडी राजमार्ग निर्माणको महत्त्वाकांक्षी योजना पारित गर्‍यो। तराईको पूर्व–पश्चिम जोड्ने राजमार्गको विकल्पमा पहाडै–पहाडको यो राजमार्ग बसाइँसराइ रोक्ने अचुक अस्त्र बन्ने तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले उद्घोष गरे।

पूर्वी पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १७ सय ५० किलोमिटर लामो मध्यपहाडी लोकमार्गले पहाडका २४ वटा जिल्ला तथा १९ वटाको त सदरमुकाम नै छिचोल्ने लक्ष्य लिइयो। राजाको हैन, कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको नाम जोडिएको यो राजमार्ग निर्माणपछि पहाडी जिल्लाका ५० लाख जनता लाभान्वित हुने आँकडा निकालियो।  

भनेकै समयमा सकिएको भए ०७५ को अन्त्यसम्म राजमार्गले पूर्णता पाउँथ्यो। तर, त्यस्तो भएन। प्रचण्ड पनि कहाँ लामो समय प्रधानमन्त्रीको कुर्सीमा अडिए र? क्रान्तिको राप र तापबाट आएका उनी प्रधानसेनापति काण्डमा फसे। ०६६ जेठमा राजीनामा दिएर बाहिरिए। 

०६४ मा जनताले संविधान बनाउन मात्र नभएर शान्ति, स्थिरता र विकासका निम्ति माओवादीलाई मत दिएका थिए। तर, प्रचण्डको बहिर्गमनसँगै जनअपेक्षा पूरा भएन। पहिलो संविधान सभाले संविधान बनाउनै सकेन। दुई वर्ष पुनः म्याद थपियो। 

त्यही बीचमा माओवादी केन्द्रका तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। ०६८ भदौ १२ मा प्रधानमन्त्री बनेका उनकै कार्यकालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले ०६९ जेठ १४ मा पटक–पटक संविधान सभाको समयावधि थप्न नमिल्ने फैसला गरिदिए। जेठ १५ गते संविधान सभा भंग भयो। ०६९ चैत १ गतेसम्म प्रधानमन्त्री रहे पनि संविधान सभा निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरियो। 

त्यही अन्तरिम मन्त्रिपरिषद्ले ०७० मंसिरमा चुनाव गरायो। तर, माओवादीलाई भने जनताले पत्याएनन्। उसले प्रत्यक्षतर्फ २६ सिट मात्र जित्न सक्यो। ठूलो दल बनेको नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री बने। कोइराला नेतृत्वको सरकारले ०७२ साल असोज ३ मा संविधान जारी गर्‍यो। 

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको रूपमा डा.भट्टराई थिए नै। तर, उनले नयाँ संविधानलाई ‘रातो स्टिकर टाँसेको घर’को संज्ञा दिए। ९ असोजमा माओवादी केन्द्र र सांसद पद नै छाडेको घोषणा गरे। 

‘जनयुद्ध’हुँदै शान्ति सम्झौतामा आएको माओवादी पार्टी र सिद्धान्तै त्यागेका डा. भट्टराईले वैकल्पिक शक्तिको नाममा ‘नयाँ शक्ति’ जन्माए अनि शक्ति प्राप्तिको लागि प्रचण्ड नेतृत्वको सरकारको बेला आफैले कल्पेको मध्यपहाडी राजमार्ग यात्रा रोजे। 

राष्ट्रिय गौरवको परियोजना तोकिएकै बेला सकिएको भए ०७५ माघ १५ देखि फागुन १५ सम्मको ‘जनसंवाद यात्रा’ कालोपत्रेमै सम्भव हुन्थ्यो। तर, त्यस्तो भएन। ठाउँठाउँबाट ट्विट गर्दै निर्माणले गति नलिएको जानकारी उनले नै गराए। निर्माणले अझै पूर्णता पाएको छैन। तर, राजमार्ग निर्माणसँगै पहाडी भेगमा नयाँ अवसरहरू भने सिर्जना भएका छन्।

नयाँ अवसर सिर्जना हुनु एउटा कुरा! कुनै समय आफ्नो पकड क्षेत्र मानिने ‘मध्यपहाड’ साँच्चै माओवादीसँग विरक्तिएको छ। बरु, त्यताको जनमत आफ्नो पक्षमा कायम राख्न एमाले चाहिँ सफल भएको छ। ५० लाख हाराहारी जनसंख्या भएको सो क्षेत्र क्षेत्रीय र भौगोलिक रूपले जति विभेदमा परेको छ, त्यत्ति नै ‘पहाडी राष्ट्रवादी भावना’ पनि बोक्छ। एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ०८० को मंसिर १४ देखि पुस ३ गतेसम्म ‘संकल्प यात्रा’ को क्रममा त्यो भावना अझ जाग्रित भएको जनयुद्धको क्रममा त्यहाँका जनताको नाडी छामेका प्रचण्डलाई भेउ नहुने कुरै भएन। 

स्वाभाविक रूपले सदन र सडक प्रतिपक्षीकै हो। तत्काल सत्तायात्रा मुस्किल रहेका बेला उनी मध्यपहाडमै छन् र वर्तमान सरकारको आलोचनामा शब्द खर्चिरहेका छन्। नेता÷कार्यकर्तासँगको भेटमा पार्टी संगठन सुदृढीकरणको विषय उठाइरहेका छन्। बागलुङको पातीहाल्नेमा भएको भव्य स्वागतबाट प्रफुल्ल प्रचण्डले सामाजिक सञ्जालमार्फत् धन्यवाद पनि दिइसकेका छन्। 

त्यो वचनवाण र इख 
शक्ति आर्जनका निम्ति मध्यपहाडी राजमार्ग रोजेका प्रचण्डले बाबुरामले छाडेपछि ०७४ मा एमालेसँग चुनावी सहकार्य गरे। पार्टी एकीकरण गर्ने गरी भएको सिट बाँडफाँटपछि माओवादीले संघीय संसदमा प्रत्यक्षतर्फ ३६ सिट जित्यो भने समानुपातिकतर्फ १३.६६ प्रतिशत मतमात्र प्राप्त गर्‍यो। 

सहमति अनुसार नेकपा बन्यो। भत्क्यो। उनी कांग्रेससँग मिले। कांग्रेसँगको ०७९ को गठबन्धनबाट माओवादीले प्रत्यक्षतर्फ १८ सिटमा मात्र विजय प्राप्त गर्‍यो। ७ प्रदेशतर्फको ३३० मध्ये प्रत्यक्षतर्फ जम्मा ५३ सिट र समानुपातिक जोड्दा ८२ पुग्यो। 

समानुपातिक जोड्दा संघीय सांसदको संख्या ३२ भए पनि उनलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीले बोक्यो। कांग्रेसलाई जिल्याउँदै एमालेसँग जोडेको साइनो गएको असारमा टुटेपछि कांग्रेस–एमालेले प्रचण्डलाई मुटु नै विझाउने वचनबाण हाने। ‘सधैँ अर्कालाई खेलाएर सत्ता हत्याइरहने पात्र’को रूपमा चित्रित गरियो। 

सजिलो छैन माओवादीलाई
राजनीतिमा घोचपेच, मिलन–बिछोड स्वाभाविक होला। तर, अन्य दलहरू ०८४ मा एक्लै चुनाव लड्छु भन्दै गर्जिएपछि प्रचण्डमाथि पनि स्वाभाविक रूपले दबाब बढ्यो। उनी अहिले ‘०८४ मा एक्लै चुनाव लड्ने’ उद्घोष गरिरहेका छन्। 

तर, उनी हिँडेको बाटोलाई नै सिंहावलोकन गर्दा प्रचण्ड र माओवादीले ठूलो मिहिनेत गर्नुपर्ने देखिन्छ। एकाध जिल्लामा बाहेक अन्यत्र माओवादी फराकिलो अन्तरले तेस्रो शक्ति मात्र हो।

पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेल्धुरा र बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ।

संघ र प्रदेशतर्फ हेर्ने हो भने, मध्यपहाडी जिल्लामा माओवादीको तर्फबाट शक्तिबहादुर बस्नेतले जाजरकोटबाट संघीय चुनाव जितेका छन् भने प्रदेशतर्फ अछामबाट अक्कलबहादुर साउद र झपटबहादुर राउत, डोटीबाट शिवसिंह ओली, डडेल्धुराबाट खगराज भट्टले चुनाव जितेका हुन्। 

मध्यपहाडीमा पर्ने भोजपुर, रुकुम, रोल्पा, गोरखा, सिन्धुली, जाजरकोट, काभ्रेलगायतका जिल्लामा मात्र माओवादीको राम्रो उपस्थिति रहेको छ। ०७९ को चुनावी परिणाम अनुसार भोजपुरमा सुदन किराती निर्वाचनमा होमिँदा ६१ हजार ८ सय ३० मत खसेको थियो। निर्वाचन आयोगका अनुसार सुदनले त्योमध्ये २८ हजार ५ सय ७८ मत पाएका थिए, विपक्षी  शेरधन राईले २६ हजार १ सय ९३ मत पाएका थिए। 

त्यस्तै मध्यपहाडीमा पर्ने खोटाङबाट रामकुमार राई, नुवाकोट १ मा हितबहादुर तामाङ, गोरखा २ मा प्रचण्ड, बागलुङ २ बाट देवेन्द्र पौडेल, रोल्पाबाट वर्षमान पुन, रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती, रुकुम पश्चिमबाट जनार्दन शर्मा र दोलखाबाट गंगा कार्कीले चुनाव जितेका थिए। 

काभ्रेपलञ्चोक १ मा सूर्यमान तामाङ, सिन्धुपाल्चोक १ मा माधव सापकोटा, सिन्धुली २ मा लेखनाथ दाहाल २१ हजारभन्दा बढी मतान्तरले विजयी हुँदा प्रदेशसभातर्फ सिन्धुली १(१) बाट मातृकाप्रसाद भट्टराई, २(२) बाट गंगानारायण श्रेष्ठ, नुवाकोट १(१) बाट राधिका तामाङ, नुवाकोट २(२) बाट रामप्रसाद ढुङ्गाना, काभ्रेपलाञ्चोक १(१) बाट  रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १(२) बाट सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २(१) बाट युवराज दुलाल, धादिङ १(२) बाट शालिकराम जम्कट्टेल प्रत्यक्षतर्फ विजयी बनेका छन्। 

मध्यपहाडी यात्राको क्रममा सुप्रिमो प्रचण्डले पाँचथरको क्षेत्र नंबर २ बाट  निर्वाचित कृष्णबहादुर आङ्बो, ओखलढुंगाको  २ का बाबुराम गौतम, उदयपुरको १ र २ बाट निर्वाचित क्रमशः राजन किराँती र राजनबहादुर मगरको स्वागत पाएका छन्। 

गण्डकीमा प्रदेश सभातर्फ माओवादीले समानुपातिकतर्फ १ लाख १६ हजार ९४७ मत प्राप्त गरेको थियो। प्रदेश सभामा तनहुँबाट हरिबहादुर चुमान, गोर्खाबाट कृष्णप्रसाद धिताल र फणिन्द्र देवकोटा तथा म्याग्दीबाट रेशमबहादुर जुग्जाली मगरले मात्र प्रत्यक्षतर्फ विजयी बनेका थिए। तीमध्ये फणिन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँशक्ति) पार्टीको सांसदको पहिचान बनाइसकेका छन्। 

पालिकामा माओवादी 
स्थानीय तह हेर्ने हो भने, यात्रा सुरु गरेको बैतडीमा ०७९ को चुनावमा कांग्रेससँग गरेको गठबन्धनबाट माओवादीले त्यहाँको मेलौली नगरपालिकामा  प्रमुख जितेको छ। भीमबहादुर चन्द मेलौलीको नगर प्रमुख हुँदा पाटन नगरपालिका उपप्रमुखमा माओवादीका कमलसिंह बोहोरा रहेका छन्। अन्य स्थानीय तह हेर्ने हो भने डिलासैनी स्वतन्त्र उम्मेदवारले जितेको पालिका हो। दशरथ चन्द नगरपालिकामा एमालेको मेयर कांग्रेसको उपमेयर रहेका छन्। दोगडा–केदार, पञ्चेश्वर गाउँपालिकामा एमालेको नेतृत्व छ भने प्रचौँडीमा कांग्रेस अनि  शिवनाथ र सिगासमा कांग्रेसका प्रमुख र एमालेका उपप्रमुख तथा सुर्नयामा एमालेका प्रमुख र कांग्रेस उपप्रमुख रहेका छन्। एमालेले प्रमुख वा उपप्रमुख जितेका अधिकांश ठाउँमा माओवादी उम्मेदवार मैदानमा थिए। 

७ पालिका रहेको जाजरकोटमा शिवालय गाउँपालिकामा माओवादीबाट वीरबहादुर र गीता शाही अध्यक्ष र उपाध्यक्ष रहेका छन्।  नलगाडको मेयरमा नन्दबहादुर रावत, छेडगाडका उपमेयरमा चन्द्रबहादुर थापा, बारेकोट गाउँपालिजका उपाध्यक्ष वीरबहदुर रहेका छन्।  

दैलेखको एउटामात्र पालिका नौमुले गाउँपालिकामा माओवादीका छविराज सुवेदी अध्यक्ष हुँदा अछामको मेल्लेख गाउँपालिकाका अध्यक्षमा ज्वालासिंह साउद एवं रामरोशन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः  मानबहादुर साउद र सिर्जनादेवी बुढाले जितेका छन्। 

डोटीमा बोगाटन फुङसिल गाउँपालिकामा कमलबहादुर गडसौला अध्यक्ष हुँदा डडेल्धुरामा अजयमेरुमा उमेशप्रसाद भट्ट, आलीताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा शेरसिंह पार्की र मैनाकुमारी रावत र परशुराम नगरपालिका उपमेयरमा बिलाकुमारी बोहरा विजयी बनेका थिए। 

पूर्वको पाँचथरको कुरा गर्ने हो भने, कुम्मायक गाउँपालिकामा कांग्रेसका सन्तोष राई अध्यक्ष हुँदा माओवादीका बमप्रसाद लावती उपाध्यक्ष रहेका छन्। तुम्वेवामा पनि त्यस्तै छ। कांग्रेसका बाबुराम खड्का अध्यक्ष र माओवादीका खड्ग सुन्दर सङ्बाहाम्फे उपाध्यक्ष छन्।

फालेलुङमा पनि कांग्रेसले अध्यक्ष जित्दा माओवादीको पोल्टामा उपाध्यक्ष परेको छ। महेन्द्र हाङ जबेगू उपाध्यक्षमा चुनिएका छन्। फिदिम नगरपालिकामा कांग्रेसका मित्रप्रसाद काफ्ले मेयर हुँदा माओवादीको तर्फबाट राधाकृष्ण न्यौपाने उपमेयर बनेका थिए। 

मिक्लाजुङमा माओवादीका अमरराज माखिम निर्वाचित भएका छन्। याङवरक गाउँपालिका गठबन्धनले हल्लाउन नसकेको एमालेको गढ हो। त्यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै एमालेका छन्। वडाध्यक्षमा चाहिँ माओवादीको पनि उपस्थिति रहेको छ। हिलिहाङमा कांग्रेसका समरबहादुर अधिकारी अध्यक्ष हुँदा उपाध्यक्षमा एमालेकी सुमित्रा उप्रेतीले जितेकी थिइन्।  

तेह्रथुमको आठराईमा कांग्रेसका दिलकुमार पाहिम अध्यक्ष र उपाध्यक्षमा  माओवादीका बलीराज इङनाम रहेका छन्।  छत्रधर एमालेको गढ हो, यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै एमालेकै छन्। फेदापमा पनि कांग्रेसकै अध्यक्ष उपाध्यक्ष छन् भने मेन्छयायेममा एमालेका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष बनेका छन्। 

म्याङलुङ नगरपालिका पनि एमालेकै मेयर उपमेयर छन्। लालीगुराँस नगरपालिकामा कांग्रेसका प्रमुख र  उपप्रमुख  रहेका छन्। 

भोजपुरको अरुण नगरपालिकाका मेयर–उपमेयर दुवै पद कांग्रेसले जित्दा ४ वटा वडामा माओवादीका वडाध्यक्ष विजयी भए। माओवादी प्रभाव क्षेत्र मानिने आमचोक गाउँपालिकामा  माओवादीका अशोक राई अध्यक्ष हुँदा उपाध्यक्षमा माओवादीकै सीता राई रहेकी छन्। 

टेम्के मैयुङमा कांग्रेसले अध्यक्ष जित्दा उपाध्यक्ष एमालेको पोल्टामा गएको थियो। पौवाङदुङमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेका रहेका छन्। 

भोजपुर नगरपालिकामा कांग्रेसले मेयर जित्दा एमालेका उपाध्यक्ष जियी बनेका थिए। रामप्रसाद राई गाउँपालिकामा चाहिँ माओवादीका थामबहादुर राई अध्यक्ष र कांग्रेसका वीरेन्द्र राई उपाध्यक्ष चुनिएका छन्। 

षडानन्द नगरपालिकामा एमालेले मेयर जित्दा माओवादी केन्द्रका प्रमिला राईले उपमेयर जितेकी छन्। साल्पासिलिछोमा दौलथकुमार कुलुङ राईले स्वतन्त्र रूपमा चुनाव जित्दा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए। हतुवागढीमा एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको थियो। 

धनकुटाको सदिदभूमि र चौबीसेमा एमालेका उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्षको रूपमा कार्यरत छन्। त्यहाँ छथरको उपाध्यक्षमा गीता गुरुङले मात्र जनप्रतिनिधिको रूपमा अध्यक्ष प्रचण्डलाई स्वागत गर्नेछिन्। 

धनकुटा नगरपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष रहेका छन् भने 
पाख्रीबास नगरपालिकामा कांग्रेसले मेयर जित्दा एमालेकी नम्रता गौतमले उपमेयर जितेकी छन्। 

महालक्ष्मीमा पनि माओवादीको उही हाल छ। कांग्रेसका उम्मेदवारले मेयर जित्दा उपमेयर एमालेको पोल्टामा गएको छ। साँगुरीगढी गाउँपालिकामा पनि माओवादी बलियो छैन। त्यहाँको अध्यक्ष र उपाध्यक्षमा क्रमशः कांग्रेस र एमालेका उम्मेववार विजयी भएका थिए। 

खोटाङको ऐसेलुखर्कमा एमालेका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष रहेका छन्। 
केपिलासगढीमा कांग्रेस र जनता समाजवादीका प्रमुख र उपप्रमुख छन्। खोटेहाङका अध्यक्ष माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका प्रतिनिधि रहेका छन् भने जन्तेढुंगामा माओवादीको तर्फबाट अध्यक्ष अरुणादेवी राई र कांग्रेसको तर्फबाट खेमबहादुर खड्का उपाध्यक्ष छन्। दिपु्रङ चुइचुम्मामा एमालेका अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुँदा बराहपोखरीमा कांग्रेस र एकीकृत समाजवादी हुँदा वडाध्यक्षहरू छन्। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले चाहिँ माओवादीको साख जोगाएका छन्। रावाबेसीमा एमालेका जनप्रतिनिधि रहँदा साकेलामा माओवादीकी विसिलार राई उपाध्यक्ष छन्। हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै कांग्रेसका छन्। 

ओखलढुंगाको खिजीदेम्बामा समाजवादीका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष रहेका छन्। चम्पादेवीमा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजी हुँदा 

चिशंखुगढीमा माओवादीका निशान्त शर्माले चुनाव जितेका थिए।  मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवार अध्यक्ष हुँदा उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो। स्थानीय निर्वाचन ०७९ अनुसार त्यहाँ माओवादी कमजोर देखिएको छ। मोलुङको अध्यक्ष र उपाध्यक्ष नै एमालेका छन् भने लिखुमा कांग्रेसका अध्यक्ष, उपाध्यक्षमा एमाले एवं सिद्धिचरण नगरपालिकामा पनि कांग्रेसका मेयर र  एमालेका उपमेयर छन्। सुनकोसी गाउँपालिकाको दुवै पद कांग्रेसका उम्मेदवारले जितेका हुन्।  

उदयपुरको उदयपुरगढीमा एकीकृत समाजवादीका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष रहँदा कटारी नगरपालिकामा कांग्रेसका मेयर र एमालेका उपमेयर रहेका छन्।  

चौदण्डीगढीमा एमालेको बर्चस्व छ भने ताप्ली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ढुंगराज विश्वकर्मा र उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर कार्यरत छन्। 

त्रियुगामा कांग्रेसको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी बनेका थिए भने रौतामाई गाउँपालिकामा माओवादीका वीरेन्द्रकुमार मगर र उपाध्यक्ष कांग्रेसको तर्फबाट प्रतिनिधित्व छ। बेलका नगरपालिकामा पनि कांग्रेस प्रमुख एमाले उपप्रमुख छन् भने  लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादीका मेजरकुमार राई र उपाध्यक्ष कांग्रेसका प्रतिनिधि रहेका छन्। 

माओवादीलाई खुसी दिने रुकुम पूर्वको पुथा उत्तरगंगामा पुनीराज घर्ती र भुपेन्द्रा बुढा, भूमे गाउँपालिकामा होमप्रकाश श्रेष्ठ र सविना बुढा क्रमशः अध्यक्ष र उपाध्यक्ष रहेका छन्। सिस्ने गाउँपालिका अध्यक्षमा कृष्ण रेग्मी र उपाध्यक्षमा एमालेका गोपाल रेउले चुनिएका छन्। 
 
रुकुम पश्चिमका आठबीसकोट र चौरजहारी नगरपालिका, त्रिवेणी, सानोभेरी गाउँपालिका माओवादीकै पोल्टामा छ। बाँफीकोटमा कांग्रेसका जनक बाठामगर अध्यक्ष तथा मुसीकोट नगरपालिकामा पनि कांग्रेसका महेन्द्र केसी मेयर बनेका छन्। 

रोल्पाका त्रिवेणीमा एमालेका कृष्ण बाठामगर र कांग्रेसका लेखमणि डाँगी जनप्रतिनिधि रहँदा थवाङमा अध्यक्ष ऋषिकेशव र उपाध्यक्ष शर्मिला बुढामगरले प्रचण्डको स्वागत गरेका छन् भने परिवर्तन गाउँपालिकामा सुकबहादुर बुढामगर र कलादेवी खत्रेनीले पनि सुप्रिमो प्रचण्डलाई नजिकबाट हेर्ने मौका पाएका छन्। 
 
मध्यपहाडीमा पर्ने १२ स्थानीय तह भएको धादिङमा माओवादीले गजुरी नगरपालिकासहित ३ पालिकाको प्रमुख र ५ उपप्रमुख जितेको छ। ९ वटा स्थानीय तह रहेको सिन्धुलीमा दुधौली नगरपालिका र सुनकोसी, मरिण र हरिहरपुरगढी तीन गाउँपालिकाको प्रमुख जितेको छ। सुनकोसीमा दीपा दोहोरिएर अध्यक्ष बनेकी हुन्। 

१२ स्थानीय तह रहेको काभ्रेमा खानीखोलाका प्रमुख इन्द्रबहादुर थिङ, चौरी देउरालीका रेणुका चौलागाईं, भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेल, महाभारतमा कान्छालाल जिम्मा विजयी बनेका छन्। तेमाल र रोशीमा उपाध्यक्षको  रूपमा माओवादीको उपस्थिति छ। 

सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमध्ये माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ। 

नुवाकोटका १२ पालिकामध्ये बेलकोटगढीमा माओवादीले नेतृत्व पाएको छ। किस्पाङ गाउँपालिकामा एमालेसँग तालमेल भएको थियो। त्यो कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाको गाउँ हो।  

गण्डकीको गोर्खाका ९ वटा पालिकासहित बागलुङका ताराखोला र तनहुँको आँबुखैरेनीमा पनि माओवादी नेतृत्व रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad