राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतका विभिन्न सीमाहरूमा आएर अलपत्र परेका नेपालीहरूको अवस्थाप्रति चिन्ता प्रकट गरेका छन्। ति नेपालीको उचित व्यवस्थापन गर्न सरकारले भारतीय पक्षसँग गम्भीरतापूर्वक पहल नगरेको प्रति पनि केसीले असन्तुष्टि जनाएका छन्।
विश्व स्वास्थ्य संगठनको प्रोटकलअनुसार अहिलेको जस्तो विश्वव्यापी रूपमा देखापरेको महामारीको अवस्थामा कुनै देशका नागरिकहरू जहाँ छन् त्यहीँ नै सम्बन्धित देशहरूका सरकारले व्यवस्था गर्नुपर्नेमा केसीले जोड दिएका छन्।
शुक्रबार वक्तव्य प्रकासित गरी राजमो अध्यक्ष केसीले भारत सरकारले त्यो प्रोटकल वा विभिन्न देशहरूका बीचमा भएको समझदारीलाई इमान्दारितापूर्वक पालन नगरेको बताएका छन्।
‘त्यसले भारतमा बसोबास गरेका नेपालीहरूको जो जहाँ छन् त्यहीं नै उनीहरूलाई आवश्यक व्यवस्था गर्नेभन्दा उनीहरूलाई नेपालको सीमामा पठाउने काम नै बढी गर्ने गरेको छ। अहिले नेपालका सीमामा देखिएको समस्या भारतको त्यसप्रकारको गैरजिम्मेवार नीतिको पनि परिणाम हो’ उनले भनेका छन्।
उनले विश्व स्वास्थ्य संगठनको प्रोटकलअनुसार भारतभरमा बसेका नेपालीहरूलाई समूचित व्यवस्था गर्न नेपाल सरकारले भारत सरकारसित गम्भीर प्रकारले वार्ता गर्नुपर्ने आवश्यकता औंल्याउँदै संसारका अन्य देशहरूका नेपालीहरूबारे पनि आवश्यक व्यवस्था गर्न सम्बन्धित देशका सरकारहरूसित नेपाल सरकारले वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रतिक्रिया