राजनीति


सीमानामा अलपत्र नेपालीलाई घर आउन नदिनु अमानवीयः विवेकशील

सीमानामा अलपत्र नेपालीलाई घर आउन नदिनु अमानवीयः विवेकशील

नेपालखबर
चैत २१, २०७६ शुक्रबार १०:१०,

विवेकशील नेपाली दलले भारतका विभिन्न शहरबाट मजदुरी गरेर घर फर्किएका नेपालीलाई नेपालमा प्रवेश दिन र उचित व्यवस्थापन गर्न माग गरेको छ। 

कठिन अवरोधहरुलाई छिचोल्दै देशको सीमासम्म आइपुगेका उनीहरुलाई देशभित्र छिर्न नदिनु मानवीय हिसाबले उपयुक्त नभएको निष्कर्षसहित विवेकशीलले सरकारलाई ४ बुँदे सुझाव पनि दिएको छ।

विवेकशील दलले दुई देशमा अड्किएका एक अर्काका नागरिकहरुको लागि सहयोग समन्वयन गर्नको लागि नेपाल–भारत आपतकालीन समन्वयन समिति तत्काल गठन गर्न, सीमामा आइपुगेका नेपाली नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्न अनुमति दिएर खानपिन तथा बसोबासको उपयुक्त प्रबन्ध भएको क्वारेन्टिनमा राख्नको लागि संघीय सरकारले प्रबन्ध मिलाउन तथा भारतका विभिन्न सहरहरुमा रहेका नेपालीहरुको अवस्था बुझ्न तुरुन्तै दुतावासले हटलाइन सेवा संचालन गर्ने तथा त्यही रहनको लागि यदि आवश्यक प्रबन्ध गर्नु परेमा सो को लागि भारत सरकारसँग समन्वय गर्ने र उसको अनुमतिमा अन्य संघसंस्थाहरुलाई पनि परिचालन गर्न आग्रह गरेको छ।

यस्तै, भारतबाहेक अन्य मुलुकमा रहेका नेपालीहरुका सम्वन्धमा कुटनीतिक नियोगहरुलाई पूर्ण रुपमा सक्रिय बनाउँदै आफ्नो नागरिकहरुको स्थितिका बारेमा जानकारी लिने तथा उनीहरुलाई तत्काल सहयोग चाहिएमा त्यहाँको सरकार तथा निजको अनुमतिमा स्थानीय संघसंस्थासँग समन्वय गरी व्यवस्था गर्न पनि सो दलले आग्रह गरेको छ।

वक्तव्यमा विवेकशीलले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad