सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पहिलो पटक नौ जनाको स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरुको तब्लिगी जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ जना र फ्रान्सबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी कूल नौ जनाको स्वाब परीक्षणका लागि सो प्रतिष्ठानमा पठाइएको हो।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वाब संकलन गरी उनीहरुलाई पुनः क्वारेन्टिनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। परीक्षणका लागि स्वाब संकलन गरेका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले नौ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
स्वाब रिपोर्ट आएपछि थप स्पष्ट हुने भन्दै अस्पतालले स्वाब रिपोर्ट आउन दुई÷तीन दिन लाग्ने जनाएको छ। भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा तथा फ्रान्सबाट आएका एक जनालाई राजविराज नगरपालिका–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा बनाइएको क्वारेन्टिनमा राखिएको छ। रासस
Shares

प्रतिक्रिया