नेकपा (एमाले)ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार अधिनायकवादी बाटोमा हिडिरहेको ठहर गरेको छ।
मंगलबार एमाले मुख्यालय च्यालसमा बसेको संसदीय दलको बैठकले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसदमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष सुनाए।
‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ। सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ। यसले विधिको शासन र कानुनी राज्यको बर्खिलाप रहेको छ,’ महरले भने, ‘सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ, सुखि नेपाली समृद्ध नेपालको विरुद्धमा छ।’
सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको उनको भनाइ छ। ‘जुन प्रकारको सरकारको नीति, व्यवहार र कार्यशैली छ यसका विरुद्ध सदनमा पार्टीलाई दृढतापूर्वक प्रस्तुत हुने प्रश्ताव पारित गरेका छौँ,’ उनले भने।
त्यस्तै, झापा र इलाम क्षेत्रका ८३ भन्दा बढी चिया उद्योग बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने पनि एमालेको निर्णय छ। यसलाई राष्ट्रिय समस्याको रूपमा एमालेले चित्रण गरेको छ। उद्योगहरू बन्द हुँदा ६० हजारभन्दा बढी मजदूर बेरोजगार भएको र यसले राष्ट्रिय उत्पादन एवं निर्यातमा ठूलो धक्का पु¥याएको महरले बताए।
‘चिया क्षेत्रको यो समस्या एक गम्भीर राष्ट्रिय समस्या हो। यसको दीर्घकालीन समाधानका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ भन्ने हाम्रो ठहर छ,’ उनले भने।
Shares

प्रतिक्रिया