नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो टिप्पणी गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको बताए। उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बनेपातिर हिँड्ने लक्ष्य राखेको तर थानकोटतिर पाइला चालिरहेको भान भएको टिप्पणी गरे।
उनले आफूहरूले विगतमा भएका कमजोरीको आत्मआलोचना र प्रतिबद्धतासहित प्रस्तुतहुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने बताए। उनले सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई नेपालको आर्थिक सिद्धान्तको रूपमा स्पष्ट रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिए।
‘बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहीँ बनेपातिर लक्ष्य राखेको तर पाइला चाहीँ थानकोटतिर बढाइरहेको जस्तो अनुभूति हुने थुप्रै विषयवस्तुहरू छन्,' उनले भने, 'म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन। म आशा गर्छु यसपटक पनि अर्थमन्त्रीज्यूले उत्तरलाई प्रश्न बनाइदिनुहुने छैन। विगतमा भएका त्रुटीहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। हामी प्रतिपक्षी दल भएको कारण केही आत्म आलोचना र केही प्रतिवद्धतासहित प्रस्तुत भइरहेका छौँ।'
आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ।
Shares

प्रतिक्रिया